‘साउनमा संक्रमित ३९ हजार नाघ्छन्, जोखिम बढेका ठाउँमा कडा लकडाउन हुन्छ’

'सार्वजनिक यातायातबारे अर्को मनित्रपरिषद बैठकमा छलफल हुन्छ'

अनलाइनखबर

काठमाडाैं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल अनलाइनखबरसँग कुराकानी सुरु गर्नुअघि स्वास्थ्य तथा मन्त्रालयमा विज्ञहरुसँगको छलफलमा थिए । कडाइका साथ नियन्त्रण गर्दा पनि आगामी साउन अन्तिमसम्म संक्रमितको संख्या ३९ हजार नाघ्ने मन्त्री ढकालले विज्ञहरुको आकलन सुनाए ।

शुरुमा बढीमा ५ हजार संक्रमित होलान् भन्ने अनुमान गरेर थालिएको तयारी अब पर्याप्त नभएको उनले स्वीकार गरे । अब कम्तिमा ४० हजार संक्रमित पुग्छन् भन्ने आकलनका साथ व्यवस्थापनमा लागिएको उनले बताए ।

सीसीएमसीका सदस्यसमेत रहेका मन्त्री ढकालले खुकुलो पारिएको लकडाउनको २१ दिनको अनुभव समीक्षापछि मात्रै सार्वजनिक यातायात विस्तारै खुलाउने र संक्रमण देखिएका ठाउँहरुमा अझ कडा लकडाउने गर्ने बताए ।

प्रस्तुत छ, स्वास्थ्यमन्त्री ढकालसँग कोरोना महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासबारे अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीको सम्पादित अंश-

सरकारले लकडाउन खुकुलो बनाएर कार्यालयचाहिँ खोल्ने, तर त्यहाँ जाने सेवाग्राहीका लागि सार्वजनिक यातायात नखोल्ने कुराले अप्ठेरो पर्‍यो भनिँदैछ, सार्वजनिक यातायात खोल्नेबारे सरकारको योजना के छ ?

यसमा दुईटा कुरा छ । हामीले पहिले लामो समय कडा लकडाउन गर्‍यौं । जनताले कष्ठ सहेर पनि पालना गर्नुभयो । पछिल्लो दिनमा दैनिक जीवनमा असर पारेको भनेपछि अलि सहजीकरण गरेका हौं । भ्यालीभित्र आउन नपाउने, संक्रमण भएका जिल्लाबाट अर्कोमा जाने कुरालाई रोक्ने पनि भन्यौं । दैनिक जीवनचाहिँ सहजीकरण गरौं भनेर गरिएको हो । तर, मान्छेहरुमा कस्तोखालको मनोविज्ञान भयो भने हिजो लकडाउनमा निसास्सिएको जस्तो भयो । तर, आज मान्छेको हाउभाउ र गतिविधि हेर्ने हो भने भने अब पनि नेपालमा कोरोना छ र ? लकडाउनको कुनै प्रत्याभूति छ र ? भन्नेखालको देखिन्छ ।

प्रकाशित मिति: : 2020-06-26 15:35:34

प्रतिकृया दिनुहोस्