काठमाडौं–नुवाकोट हुँदै गोसाइँकुण्ड पदयात्रा मार्ग अध्ययन सुरु

नेपाल पर्यटन बोर्ड र रसुवा-नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासमा शुक्रबारदेखि काठमाडौंबाट नुवाकोट हुँदै गोसाईकुण्डसम्मको नयाँ पदमार्ग अध्ययनको लागि टोली छुटेको छ।

काठमाडौंको बुढानिलकण्ठबाट प्रस्थान गरेको ६ सदस्यीय टोलीले ८ दिनको भ्रमण गरि सम्भाव्यता अध्ययन गर्नेछ।

टोलिमा समाजका सदस्यहरू दिनेश तामाङ ,गगनराज न्यौपाने, उर्जा तामाङ, अशोक शिलवाल, सुरेन्द्र राना छन्।

टोलीलाई युवा नेता रमेशकुमार महत र रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले विदा गर्दै यात्राको सफलताको शुभकामना समेत दिए।

पछिल्लो समय सडक सञ्जालले पदमार्ग मासिँदै गएको भन्दै न्यौपानेले नयाँ नयाँ पदमार्ग खोजी र प्रवर्धन गर्न सके पर्यटकको नेपाल बसाई लम्ब्याउन सकिने तर्क राखे।

समाजको कोषाध्यक्ष दिनेश तामाङले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई उकास्ने पर्यटनकर्मीको जोश जाँगर जिवितै रहेको भन्दै यस्ता कार्यक्रमले पर्यटकीय क्षेत्रमा  सुधारोन्मुख प्रगति हुने बताए।

नेपाल पर्यटन बोर्डका सदस्यसमेत रहेका दिपक महतले यो काठमाडौदेखि सुरु हुने नेपालकै पहिलो र एकमात्र लामो पदमार्ग भएको दाबी गरे।

कोभिड–१९ ले समग्र पर्यटन क्षेत्र थला परेको छ। अबका केही वर्ष मुलुकमा पर्यटकीय चहलपहल नहुने आशंकामा पर्यटनकर्मीमा निराशा छाएको छ। यही सन्दर्भमा पर्यटनलाई पुर्नजीवन दिन भन्दै कार्यक्रमको आयोजना गरिएको महतले बताए।

लामो समयदेखिको लकडाउनले ठप्प रहेको पर्यटकीय गतिविधि लकडाउन  खुल्नेबित्तिकै आन्तरिक पर्यटनको चाप बढ्ने निश्चित छ। यसले केही न केही राहत पक्कै दिनेछ।

कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन ठप्प छ।

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोनाभाइरस सङ्क्रमणका कारण क्षति बेहोर्नुपरेको थियो।

 

प्रकाशित मिति: : 2020-06-26 18:52:32

प्रतिकृया दिनुहोस्