स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको सेभिया बराबरीमा रोकिएको छ। शुक्रबार राति घरेलु मैदानमा भएकाे खेलमा रियल भाल्लाडोलिडसँग एक/एक गाेलकाे बराबरीमा राेकिएकाे हाे।
खेलको २५औं मिनेटमा किकोले गोल गर्दै भाल्लाडोलिडलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा भाल्लाडोलिडले अग्रता कायमै राख्यो।
५५औं मिनेटमा मुनियर अल हाड्डाईले सेभियाका लागि बराबरी गोल फर्काएपनि भिएआरले उक्त गोललाई मान्यता दिएन।
८३औं मिनेटमा ओकम्पासले पेनाल्टीमा गोल गरेपछि सेभिया अंक बाढ्न सफल भयो।
बराबरीले सेभियाको तेस्रो स्थानमा पुग्ने अवसर गुमेको छ। ३२ खेलबाट ५४ अंक जोडेको सेभिया चौथो स्थानमै यथावत छ।
एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५५ अंकसहित तेस्रो स्थानमा छ। ३२ खेलबाट ३५ अंक जोडेको भाल्लाडोलिड १४औं स्थानमा छ।