७५ प्रतिशतले घटे इंग्ल्याण्डबाट क्रिकेट खेल्ने अश्वेत खेलाडी

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले टिममा घट्दो अश्वेत क्रिकेट खेलाडीलाई लिएर चिन्ता व्यक्त गरेको छ। उसले २५ वर्षयता इंग्लिस टिममा घटिरहेको उपस्थितिलाई सुधार गर्न नयाँ योजना बाहिर ल्याउने बताएको छ। 

हाल इंग्लिस टिममा ७५ प्रतिशतले अश्वेत खेलाडी घटेको तथ्यांक बाहिरिएको छ। इसीबीसँग मिलेर काम गर्ने अफ्रिकी–क्यारेबियाली क्रिकेटर्स एसोसिएसन (एसीसीए) ले यो मुद्धामा निसपक्ष अनुसन्धानको माग गरेको छ। 

एसीसीएका अध्यक्ष तथा सरे काउन्टीका पूर्व खेलाडी लोस्डेल स्किनरले सन् १९९० पछि अश्वेत खेलाडीलाई जानीबुझी टिमबाट बाहिर राख्ने काम भएको आरोप लगाएका छन्। 

उनले प्रश्न उठाए, इसीबीमा अझै पनि कुनै अश्वेतले प्रशासकको रुपमा काम गर्न पाएका छैनन्। ‘हामी यहाँको संस्कृतिसँग जोडिएका छौं। हामीलाई क्रिकेट खेलसँग निकै प्रेम छ,’ उनले भने, ‘अश्वेत खेलाडीलाई खेल्न समस्या भइरहेको छ। केही मात्रले मौका पाएका छन्।’

लिड्स बेकेट विश्वविधालयको गत वर्ष प्रकासित गरेको रिपोर्टमा भनिएको छ, २५ वर्षमा इंग्लिस काउन्टीमा अश्वेत खेलाडीको उपस्थिति ७५ प्रतिशतले घटेको छ। १९९५ मा जहाँ ३३ अश्वेत खेलाडी थिए, अहिले घटेर ९ जनामा सिमित भएको छ। यति मात्र होइन, १८ काउन्टी टिममा १ सय १८ सहयोगी स्टाफमा २ जना मात्र अश्वेत छन्। 

इंग्ल्याण्डको तीब्र बलर जोफ्रा आर्चर इंग्ल्याण्डकै प्रोडक्ट होइनन्। उनी बारबाडोसबाट खेलेर इंग्लिस टिममा समावेश भएका हुन्। उनको बुवा बेलायती थिए। त्यसैले उनले २०१५ मा इंग्ल्याण्ड आउने मौका पाए।

पुरानो नियम अनुसार उनले २०२२ यता खेल्न पाउने थिएनन्। तर, इसीबीले २०१८ को नोभेम्बरमा नियम परिवर्तन गर्दै आर्चरलाई खेल्ने सुविधा दिएको थियो। उनले ३ मे २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। उनको उत्कृष्ट खेलका कारण इंग्ल्याण्डले पहिलो पल्ट विश्व कपको उपाधि पनि जित्यो। 

इसीबीका अनुसार गत वर्ष काउन्टी क्रिकेटर्स एकेडेमी (युथ–१५, १८) मा २३ प्रतिशत खेलाडी अश्वेत, एसिया र अल्पसंख्यक कम्युनिटीबाट आएका थिए। एडभान्स लेभल–३ कोचिङमा पनि उनीहरूको उपस्थिति १५ प्रतिशत मात्र थियो। संघले यो कुरामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: : 2020-06-29 09:07:41

प्रतिकृया दिनुहोस्