सुस्मिता हत्याकण्ड: ससुराद्वारा मृतकमाथि बलात्कारकाे प्रयास, सामाजिक प्रतिष्ठा जाने डरमा हत्या

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा मकवानपुर प्रहरीले सोमबार  चार जनालाई सार्वजनिक गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो।

प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटना टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए।

उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ। ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ। ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले भने। 

उनका अनुसार नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको थियाे।

पतिको निधनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ। यस्तै सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ। 

‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले भने।

प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो। 

बिमाको रकम १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ।  प्रहरी उपरीक्षकका अनुसार उनीहरुले मृतक सुस्मितासँग बाँकी रहेकाे रकम पनि आफूले पाउनुपर्ने माग समेग गर्दै आएकाे थिए। 

उनका अनुसार हत्यामा संलग्नहरुलाई मुलुकी फाैजदारी अपराधसहिता २०४१ (क) बमाेजिम पूर्ण याताना दिइ ज्यान मारेकाे अभियाेगमा जिवित रहेसम्म कैद वा जन्म कैद हुनेछ।

प्रकाशित मिति: : 2020-06-29 14:19:01

प्रतिकृया दिनुहोस्