एट्लेटिकोसँग बार्सिलोनाको बराबरी

मेसीकाे ७०० औँ गाेलकाे काेशेढुङ्गा पार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा राेकिएकाे छ।

मंगलबार राति घरेलु मैदानमा भएकाे खेलमा बार्सिलोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

डिएगो कोस्टाको आत्मघाति गोलसँगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो।

साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्‍याएका थिए।

लिओनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए।

याेसँगै मेसीले ७ सय गोलको कोशेढुङ्गा पार गरे। बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेसीले क्लब र देशका लागि सो गोलको कोशेढुङ्गा पार गरेका हुन्।

पेनाल्टी गोलसँगै मेसीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरेका हुन्।

 तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

बराबरीको नतिजासँगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भिर धक्का लागेको छ। उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

बार्सिलोनाको ७० अंक भएको छ। शीर्ष स्थानको रियलको ७१ अंक छ। एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ।

बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ।

अन्य खेलमा सेभिलाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राख्यो।

मालोर्काले सेल्टा डी भिगोमाथि ५–१ को जित निकाल्दै रेलिगेशनबाट जोनबाट आफुलाई बाहिर निकाल्न प्रयासरत रहेको देखायो।

प्रकाशित मिति: : 2020-07-01 06:02:45

प्रतिकृया दिनुहोस्