सीको बाटोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

शक्तिशाली पुटिन–१ 

सन् २००० देखि रुसी राजनीतिको केन्द्रबिन्दुमा रहेका राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी चिनफिङ जस्तै सर्वशक्तिशाली बन्ने अभियानमा अगाडि छन्। चिनियाँ कम्युनिष्ट पार्टीले दुई वर्षअघि मात्र सीलाई आजीवन राष्ट्रपति बनिरहने कानुनलाई पास गरेको थियो। 

यस्तै अभियान रुसमा पनि भएको छ। तर, यहाँ जनमत संग्रहको सहयोग लिइएको छ। बुधबार मात्र ७ दिन लगाएर रुसमा जनमत संग्रह सम्पन्न भयो। साताब्यापी यो अभियान कोरोना भाइरसको संकटका कारण डिजिटल प्लेटफर्मको सहयोगले भएको थियो। जसमा ६० प्रतिशत मत खसेको र ६७ वर्षीय पुटिनको पक्षमा बहुमत प्राप्त हुने दावी गरिएको छ। 

रुसको साइबर त्यसै पनि पहिलेदेखि बदनाम छ। पछिल्लो अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई विजय गराउन रुसको साइबर सक्रिय भएको चर्चा अहिले पनि अमेरिकी मिडियाले गर्दै आइरहेका छन्। 

त्यसैले जनमत संग्रहको नतिजा आउनुअघि नै पुटिनको जितलाई लिएर सतप्रतिशत अड्कल गरिएको छ। जनमत संग्रहको नतिजामा बहुमत प्राप्त गरे पुटिनलाई ३०३६ सम्म राष्ट्रपति पदमा बनिरहन सायदै कसैले रोक्ने छ। यति बेला उनको उमेर ८३ वर्ष हुनेछ। 

पुटिनको कार्यकाल २०२४ मा समाप्त हुँदैछ। उनले आफू राष्ट्रपति बनिरहन यस्तो मौका चुनेका छन्, जहाँ कोरोना संक्रमणका कारण देश ठप्प छ। सरकारी एजेन्सी वत्सोमले हालै सार्वजनिक गरेको एउटा सर्भेमा पुटिनको संविधान संसोधनको पक्षमा ७६ प्रतिशत रुसीले समर्थन गरेको बताइएको छ। 

अहिले यसैको वरिपरी नतिजा निस्किने अड्कल पनि गरिएको छ। सन् २००० मा पहिलो पल्ट राष्ट्रपति नियुक्त भएका पुटिनको लोकप्रियता देशभित्र ६० प्रतिशत रहेको एउटा नीजि सर्वे एजेन्सी लेवाडाले बताएको छ। यो उनको घट्दो लोकप्रियताको ग्राफ भएको आलोचक बताउँछन्। यसअघि पुटिनको लोकप्रियता ९० प्रतिशतसम्म रहेको दावी गरिएको हो। यद्यपि यो ग्राफ पश्चिमा देशहरूका लागि भने टाउको दुखाईको विषय हो। 

पुटिन आफ्नो आक्रमक विदेश नीतिका कारण पश्चिमा देशहरूमा आलोचक छन्। चीनसँग केही वर्षअघि व्यापार युद्धमा अल्झिनु अघिसम्म अमेरिका आफ्नो कट्टर दुश्मन रुसलाई मान्ने गर्दथ्यो। रुसलाई लिएर अमेरिकाको विदेश नीतिमा खासै कुनै परिवर्तन आएको छैन। तर, बीचमा चीन अगाडि आएका कारण दुई देशबीचको लडाईमा अमेरिका अल्झिएको छ। अमेरिका लगायत विश्वका अन्य बलिया शक्ति राष्ट्र चीनसँग आक्रामक बनिरहेको बेला पुटिनले यही जनवरीमा संविधान संसोधनको प्रस्ताव अघि सारेका थिए। 

आफ्नो रणनीतिमा वर्तमान प्रधानमन्त्री दिमित्री मेदवेदेव तगारो बन्न सक्ने सम्भावनाका बीच उनले बीचैमा दिमित्रीलाई राजिनामा गर्न लगाएका थिए। यद्यपि दिमित्रीलाई उनैले प्रधानमन्त्री बनाएका हुन्। 

रुसी सत्तामा आफै सरकार र आफै प्रतिपक्षी बनेका पुटिनले दिमित्रीको स्थानमा राजनीतिमा कम अनुभवी मिखाइल मिसुस्टिनलाई प्रधानमन्त्री बनाए। पुटिनका लागि सबैभन्दा अफ्ठेरो बेला २००८ मा आएको थियो, जब उनी पुनः राष्ट्रपतिको निर्वाचनका लागि उठ्दै थिए। त्यति बेला विपक्षी नेता एलेक्सेई नावालनीले भ्रष्टाचारको मुद्धा उठाएका थिए। 

तर, रुसको जासुसी संस्था केजीबीका पूर्व कर्मचारी समेत रहेका पुटिनले उल्टै नावालनीलाई एउटा मुद्धामा फसाएर चुनाव आयोगमार्फत निर्वाचनमा भाग नै लिन नपाउने स्थिति सिर्जना गरेका थिए। 

सन् २०१५ मा पुटिनको विरोधीको रूपमा चर्चित पूर्व उपप्रधानमन्त्री बोरिस नेमत्सोवको राजधानी मस्कोमा हत्या भएको थियो। नेमत्सोवले पनि पुटिनमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए। हत्या हुनु एक साताअघि नेमत्सोवले पुटिनमाथि आरोप लगाएका थिए, उनले जुन बेला पनि आफ्नो हत्या गर्न सक्छन्।

पुटिनको शासन व्यवस्थालाई पश्चिमाहरूले पूर्व सोभियतकालिन सत्ताको रूपमा अथ्र्याउने गरेका छन्। रुसमा करिब ३ हजार टेलिभिजन च्यानल छ। यी च्यानलले राजनीतिसँग जोडिएको कुनै समाचार दिनु पर्‍यो भने सरकारको स्विकृति लिनुपर्छ। पुटिनले सत्तारोहण गरेको तीन महिनाभित्रै यो नियम लागू गराएका थिए। 

प्रकाशित मिति: : 2020-07-02 08:36:24

प्रतिकृया दिनुहोस्