पर्साको विरगञ्ज महानगरपालिकाको विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि वारुण यन्त्र ( दमकल)बाट वितरण गरिएको छ।
लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो। विरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरण कार्य गरिरहेको छ।
विरगञ्जका विभिन्न टोलमा पुगेर मेयर राजेशमान सिंह आफैं ट्यांकरबाट पानी वितरण गर्दै आएका छन। सिंहका अनुसार समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने तयारी भइरहेको छ। तत्कालका लागि ट्यांकरमार्फत पानी आपूर्ति गरी जनतालाई सहजता दिन नगरपालिकाले पहल थालेको उनको भनाइ छ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि पालिकाको बस्तीमा ट्यांकरमार्फत पानी वितरण गरिरहेका छन। खानेपानी मन्त्रीकै गृह जिल्लामा पानीको अभाव भएको भन्दै जनमत पाटीले विरगञ्जमा विरोध जनाएको छ। तीनै तहको सरकारले खाने पानीको विषयमा गम्भीर हुनुपर्ने र तत्काल समाधान गर्नु पर्ने उनीहरूको माग छ। खाली घैँटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर विरोध गरेका हुन्।
मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भए पनि खानेपानीको समस्या समाधान नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्ने उनीहरूले चेतावनी दिएका छन।
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले विरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर-घरमा पुगेर स्थलगत अनुगमन गरेका छन। उनले खानेपानी समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताएका छन्।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि विरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए। आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको अपेक्षा छ। खानेपानी समस्या समाधानका लागी विरगंज महानगरपालिकामा बैठक बसेको छ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्री यादवसहित विरगंज महानगरपालिकाका नगरप्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका बारा र पर्साका प्रमुखको उपस्थिति विरगंजको खानेपानीको समस्या समाधानका लागि छलफल भएको विरगञ्ज महानगरपालिकाले जनाएको छ।