युभेन्ट्सको सहज जित

इटालियन सिरी ‘ए’ लिगअन्तर्गत शनिबारको खेलमा साविक विजेता युभेन्ट्सले टोरिनोमाथि ४-१ को सहज जित दर्ता गरेको छ।

युभेन्ट्सको जितमा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे।

खेलको दोस्रो मिनेटमा नै डिबालाले युभेन्ट्सलाई अग्रता दिलाए। 

२९ औं मिनेटमा क्वाडराडोले युभेन्ट्सको अग्रता दोब्बर पारे। 

इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पाएको थियो। टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको ५१ औं मिनेटमा टोरिनोले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गर्यो। एलेक्स बेरेन्गेरको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले विफल पारेपनि रिबाउन्डमा बेलोट्टीको प्रहार गोल भएको थियो। तर रेफ्रीले प्रहार आउनुअघि नै बेलोट्टी अफसाइड रहेको निर्णय दिए।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै   युभेन्ट्सलाई पुन: २ गोलको अग्रता दिलाए।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे। 

जितसँगै युभेन्ट्सले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ। युभेन्ट्सको ३० खेलमा ७५ अंक जोडेको छ। 

दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ। 

प्रकाशित मिति: : 2020-07-05 05:34:56

प्रतिकृया दिनुहोस्