रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

कोरोना भाइरस कोभिड-१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहण राेकिएकाे छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए। 

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो ।  

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम असार १० गतेबाट आजसम्म भइरहेको थियो । 

यसअघि लकडाउनका कारण चैत २८ मा पनि रथ निर्माणको काम स्थगित भएको थियो।

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो ।

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।

यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन। बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ।

प्रकाशित मिति: : 2020-07-07 19:01:16

प्रतिकृया दिनुहोस्