मलालालाई अग्रिम शुभकामना

मलालालाई अग्रिम शुभकामना

पाकिस्तानी मानव अधिकार अभियानकर्ता र नोवेल पुरस्कार विजेता मलाला यूसुफजाई, जसलाई केटीको शिक्षाको प्रचार गरे बापत तालिवानले १५ वर्षको उमेरमा गोली हानेको थियो, केही समयअघि मात्र उनले बेलायतको प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री पूरा गरिन्।

पाकिस्तानमा जन्मिएकी २२ वर्षीय मलालाले किशोरीहुँदै तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी), जसलाई पाकिस्तानी तालिबान भन्ने गरिन्छ, उसले केटीहरूको शिक्षामा लगाएको निषेधविरूद्ध सार्वजनिक रुपमा बोल्ने आँट देखाइन्।

१५ वर्षको उमेरमा उनको हत्याको प्रयास भएको थियो। यसपछि विश्वको ध्यान उनीतर्फ खिचियो। सन् २०१४ मा मलालालाई बाल अधिकार र केटीको शिक्षाको पक्षमा उनले गरेको प्रयास स्वरुप नोवेल पुरस्कार प्रदान गरिएको थियो।

मलालाको जन्म १२ जुलाई १९९७ मा पाकिस्तानको मिइङ्गगोरा भन्ने ठाउँमा भएको थियो।

उनी भन्छिन्, ‘पाकिस्तानमा छोरीको जन्मलाई अभिसाप मानिन्छ। छोरीको जन्म उत्सवको कारण बन्दैन।’ यद्यपि उनको परिवार यो मामिलामा केही पृथक देखिन्थ्यो। उनको बुवा जियाउद्दीन युसुफजाईले उनलाई छोरा जस्तै समानताको आधारमा हुर्काउने प्रयास गरेका थिए।

जियाउद्दीन आफैं सामाजिक कार्यकर्ता थिए र शिक्षक पनि। त्यसैले उनले छोरीको अध्यापनमा कुनै कमि हुन दिएनन्। त्यसैले मलाला सानैदेखि उत्कृष्ट थिइन्, अध्ययनको मामिलामा।

जियाउद्दीनले आफ्नै सक्रियतामा मिंगोरा शहरमा खुसाल गर्ल्स हाइस्कुल र कलेज स्थापना गरेका थिए। उनी आफ्नो छोरीलाई आफूले देखाएको मार्गमा हिँडन् प्रोत्साहन गर्थे।

मलालाको जीवनले त्यतिबेला अर्के मोड लियो, जब स्वाट उपत्यकामा सन् २००७ मा तालिवानले एक्कासी हमला गरे। मौलाना फजलउल्लाहको नेतृत्वमा तालिवानले यो ठाउँमा कडा इस्लामिक कानुन लागू गर्न थाल्यो, यसपछि केटीहरूले आफ्नो मौलिक अधिकार गुमाउन सुरु गरे।

तालिवानले सबैभन्दा पहिले गर्ल्स स्कुल बन्द मात्र गराएनन्, महिलाहरूलाई अध्यापन गराउने स्कुल र कलेजलाई ध्वस्त पारे। महिलालाई कुनै पनि सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्न प्रतिबन्ध लगाइयो। र पुरूषहरूको दासीको रूपमा महिलाले जीवन अर्पण गर्नुपर्ने नियम लागू गरियो।

यस्तो वातावरणमा शहरमा बस्ने अवस्था थिएन, त्यसैले युसुफजाई आफ्नो परिवारको सुरक्षाका लागि अन्यत्र भागेका थिए। उनीहरू तनाव र हिंसाको सिलसिला कम भएपछि फेरि आफ्नो घर फर्किए।

सन् २००८ मा मलाला ११ वर्षकी थिइन्। तालिवानका कारण उनी स्कुल जानबाट बञ्चित भएकी थिइन्। यस्तो अवस्थामा मलालाका बुवाले स्कुल बन्द भएको विरोधमा पेशावरको एक स्थानीय प्रेस क्लबमा आफूसँगै लगेका थिए। यही मलालाले जीवनमा पहिलो पल्ट भाषण गरेकी थिइन्।

उनले यतिबेला पाकिस्तानी सरकारलाई प्रश्न गरेकी थिइन्, ‘तालिवानले कसरी मेरो आधारभूत शिक्षाको अधिकार कटौती गर्न हिम्मत गर्छ?’ उनको त्यो दमदार भाषणको प्रभाव यस्तो भयो, पाकिस्तानको हरेक अखबारले त्यसको ब्यापक कभरेज गरे। तालिवानको देशभित्र मात्र होइन, विदेश, खास गरेर अरब देशहरूमा पनि आलोचना भयो। यसबाट क्रुद्ध तालिवानले सन् २००८ को अन्त्यतिर स्वाटमा रहेको सबै गर्ल्स स्कुल बन्द गर्ने धम्की दियो।

मलालाको बन्दै गरेको छवीका कारण बेलायती समाचार संस्था बीबीसीले तालिवानको नियमको अधीन बस्नुपर्दाको अनुभव संगालेर एउटा ब्लग लेख्न उनलाई आग्रह गर्‍यो। मलालाले ‘गुल मकाई’ को उपनाममा बीबीसी उर्दूमा नियमित ब्लग लेख्न थालिन्। उनको लेख अंग्रेजीमा पनि अनुवाद भयो।

तालिवानविरूद्ध विश्वब्यापी रूपमा बन्दै गरेको दवावका कारण उनीहरूले सन् २००९ को फेब्रुअरीमा युद्वविरामको घोषणा गरे। र, केटीहरूलाई बुर्का लगाएर विद्यालय जान अनुमति दिइयो। यति नै बेला अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्सका रिपोर्टर एडम एल्लिकले मलालासँग मिलेर एउटा डकुमेन्ट्री बनाए, जसमा तालिवानको स्कुल बन्द बारे १ मिनेटको भिडियो स्टोरी थियो। जसको खुब चर्चा भयो। पत्रकार एल्लिकले उनीसँग मिलेर पुनः अर्को डकुमेन्ट्री बनाए।

मलाला यतिबेला पनि बीबीसीमा युवा ब्लगरको रूपमा सक्रिय थिइन। एकाएक उनको पहिचान खुल्यो। यसले उनको सक्रियतालाई झन् व्यापकता दियो।

सन् २०११ मा उनलाई मानवअधिकारकर्मी डेसमण्ड टुटुले अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि मनोनित गरे। र त्यो वर्षको डिसेम्बरमा उनलाई पाकिस्तानको पहिलो राष्ट्रिय युवा शान्ति पुरस्कारबाट सम्मानित गरियो। पछियसलाई राष्ट्रिय मलाला शान्ति पुरस्कार नामाकरण गरियो।

आफूविरूद्ध उभिएकी मलालाको यही प्रयासले गर्दा तालिवानले उनको हत्या नै आफ्नो मूल लक्ष्य बनायो। सन् २०१२ को अक्टोबरमा स्कूलबाट घर जाँदै गर्दा एक नकाबधारी बन्दुकधारीले स्कूलको बसमा चढेर सोध्यो–‘मलाला को हुन्? उनले आफ्नो परिचय मात्र के दिएकी थिइन्, त्यस व्यक्तिले उनको टाउकोको देब्रेतिर गोली हान्यो। यस घटनाको १० दिनपछि इंग्ल्याण्डको बर्मिंघमको एउटा अस्पतालमा उनको होस् आएको थियो।

यस घटनाको विश्वव्यापी विरोध भयो। विश्वव्यापी शिक्षाका लागि संयुक्त राष्ट्रका विशेष दूत गोर्डन ब्राउनले पनि एक याचिका दर्ता गरे। जसले २०१५ सम्ममा विश्वका सबै बच्चाहरूलाई स्कूलमा फिर्ता बोलाउन भन्यो। पाकिस्तानको शिक्षा अधिकारको पहिलो बिललाई अनुमोदन गरियो।

डिसेम्बर २०१२ मा पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले मलालाको सम्मानमा १० करोड डलर शिक्षा कोष शुरू गर्ने घोषणा गरे। यसै बेला ‘वाइटल आवाज ग्लोबल पार्टनरशीप’ द्वारा विश्वभरिका सबै केटीको शिक्षालाई समर्थन गर्न ‘मलाला कोष’ स्थापित गरियो।

महिनौं शल्यक्रिया र पुनःस्थापनापछि मलाला आफ्नो परिवारसँग युरोपको नयाँ घरमा बस्न थालिन्। नयाँ जीवनको अधिकतम लाभ उठाउने उद्धेश्यले उनले जबसम्म हरेक बालिका स्कूल जान सक्दैन तबसम्म लडाई जारी राख्ने संकल्प गरिन्। 

मलाला कोष सबै छोरीलाई आफूले रोजेको भविष्य हासिल गर्ने अवसर दिन समर्पित छ। उनको यही कार्यको सम्मानमा उनले डिसेम्बर २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरिन् र सबैभन्दा कम उमेरका नोबेल पुरस्कार विजेता भइन्।

नोबेल पुरस्कार जितिसकेपछि मलाला इंग्ल्याण्डको स्कूलमा पढ्न सुरु गरेकी हुन्। उनले मलाला कोषको माध्यमबाट असंख्य विद्यालय खोलिसकेकी छिन्।

Hard to express my joy and gratitude right now as I completed my Philosophy, Politics and Economics degree at Oxford. I don’t know what’s ahead. For now, it will be Netflix, reading and sleep. ???? pic.twitter.com/AUxN55cUAf

— Malala (@Malala) June 19, 2020

बेलायतको प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटीबाट दर्शन, राजनीति र अर्थशास्त्र विषयमा डिग्री प्राप्त गरेपछि निकै खुसी भएकी २२ वर्षीय मलालाले ट्वीट गरेकी छिन्, ‘अब के गर्ने मलाई थाहा छैन, तर अहिलेको लागि भने नेटफ्लिक्स, पढाइ र सुताई हुनेछ।’

उनलाई भविष्यका लागि अग्रिम शुभकामना छ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: Jul 08, 2020 17:23:58

प्रतिक्रिया दिनुहोस