म्याचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेकाे छ।
शुक्रबार भएकाे खेलमा एस्टन भिल्लामाथि ०–३ गाेल अन्तरकाे सहज जित निकालेको हो।
भिल्ला पार्क बर्मिङघममा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे।
२७औं मिनेटमा युनाइटेडले पेनाल्टीमा पाएकाे थियाे। इज्री कोन्साले ब्रुनो फर्नान्डेजलाई पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसमा फर्नान्डेजले गोल गर्दै यसनाइटेडलाई ०–१ को अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ०–२ को अग्रता दिलाए।
५७औं मिनेटमा पोग्वाले गोलले मान्यता नपाएपनि लगत्तै उनले नै गोल गर्दै युनाइटेडलाई खेलमा ०–३ काे जित दिलाए।
युनाइटेड पछिल्लो १७ खेलसम्म अपराजित रहन समेत सफल भएको छ। युनाइटेड २३ जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता अपराजित रहेको छ। यसक्रममा युनाइटेडले १३ खेलमा जित हात पार्दा चार खेलमा बराबरीको नतिजा निकालेको छ।
जितसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ। पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ।
युनाइटेडको ३४ खेलबाट ५८ अंक पुगेको छ। चेल्सीको ६० तथा लेस्टरको ५९ अंक रहेको छ। पराजित एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।