ब्राजिलमा भयावह बन्दै काेराेना: राष्ट्रपति संक्रमित, स्वास्थ्यमन्त्रीलाई काम गरेकाे अनुभव नै छैन !

एजेन्सी

रियाे दि जेनेरियाे

कोरोना भाइरसको महामारी केही महिनादेखि लगातार अमेरिका र ब्राजिलमा तिब्र गतिमा फैलिएकाे छ। हालसम्म अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसबाट १० लाख भन्दा बढी संक्रमित  भएका छन्।

ब्राजिलमा एक महिनादेखि २४ घन्टा भित्र ४० हजार देखि ५५ हजार संक्रमित केस भेटिदै आएको छ भने मृत्यु पनि १ हजारदेखि १५ सयको हाराहरीमा हुँदै आएको छ। त्यस कारण केही समयदेखि ब्राजिल तनावग्रस्त अवस्थामा गुज्रिरहेको छ। 

राष्ट्रपति जयर बोल्सोनारोले सुरुमा कोरोना भाइरसलाई सानो फ्लू हो भनेर  भनेका थिए। ब्राजिलका मानिसहरु बलिया छन्, केही हुँदैन भन्ने ब्राजिल बोल्सोनारोलाई नै अहिले संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसलाई सामान्य मान्ने बोल्सोनारोको लापरबाहीले गर्दा व्यापक रुपमा फैलिएको भन्दै उनको बिरोध गर्नेहरु धेरै छन् ब्राजिलमा।

हुन त बोल्सोनाराले कोरोना पोजेटिभ देखिएपछि केही दिन अघि सार्वजनिक स्थलमा अन्तर्वाता दिने क्रममा मास्क नै खोलेर बोलेका थिए। उनको यो कार्यपछि सबैले खुलेर विरोध गरे। अहिले उनी सार्वजनिक कार्यक्रममा निस्किँदैनन्। 

उनी दुई हप्तादेखि क्वारेन्टाइनमै छन्। दोस्रो पल्ट गरिएको परीक्षणमा पनि उनमा कोरोना भाइरसको लक्षण देखा परेको छ।

यसअघि बोल्सोनारोले कोरोना पोजेटिभ देखिँदा सामान्य औषधि एजिथोरोमाइसिन र हाइड्रोक्साइक्लोरोक्वाइन औषधि प्रयोग गरेका थिए। उनले यो औषधिले राम्रो काम गरेको बताएका छन्।

तर, यो औषधी कुनै चिकित्सकको सल्लाह अनुसार उनले सेवन गरेका होइनन्। यो औषधी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाएका हुन्। जसको प्रयोगबाट मुटु रोगकको समस्या देखिने चिकित्सकहरुले यसअघि नै बताएका छन्। यो औषधि क्यानडा, फ्रान्स र जापनालगायत केही मुलुकमा प्रतिबन्ध लगाइएको छ।

तर ब्राजिलको स्वास्थ्य मन्त्रालयले भने यही औषधिलाई व्यापक रुपमा फैलाउन चाहन्छ। यो औषधिले कोरोना भाइरसको उपचार गर्न उपयोगी हुने मन्त्रालयको दावी छ।

ब्राजिल अहिले यो भाइरससँग लड्न सक्ने क्षमता छैन। सोही कारण यो औषधी अगाडि सारिएको हो। ब्राजिलमा दुई महिनादेखि स्वास्थ्य मन्त्री छैन। अस्थायी रूपमा जनरल एदुआर्दो पाजुएलो दुई महिनादेखि यो पद थामिरहेका छन्। तर उनलाई स्वास्थ्य क्षेत्रमा कुनै अनुभव छैन।

ब्राजिलमा कोरोना भाइरसको कारण १२४ जना गर्भवती महिलाको मृत्यु भएको छ। अहिलेसम्म ब्राजिलमा २० लाख ८० हजार संक्रमीत भएका छन् भने ७९ हजारको मृत्यु भएको छ।

 १३ लाख ६७ हजार निको भएका छन्। ब्राजिलको सवै भन्दा बढी संक्रमीत भएको ठाउँ साओ पाउलोमा मात्र ४ लाख ७५ हजार संक्रमीत भएका छन् भने १९ हजार ४ सयको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-07-19 12:52:43

प्रतिकृया दिनुहोस्