विश्वले मानेको नेता 

१०६ औं जन्म जयन्ती

महात्मा गान्धीले एकपल्ट विपीलाई सोधेछन्, ‘राजनीतिमा कसरी रुचि भयो?’
उनको उत्तर थियो, ‘राजनीति मैले आफ्नो परिवारिक विरासतबाटै पाएँ। यो त मेरो नशामै दौडिरहेको छ।’

विश्वेश्वरप्रसाद कोइराला, नेपालले मात्र होइन, विश्वले मानेका नेता हुन्। अझ उनी संसारभरिका समाजवादीहरूका लागि आदर्श हुन्। राणा शासनको विरोध गरेको आरोपमा बाबु कृष्णप्रसाद देश निकाला भएकै बेला विपीको जन्म भएको हो– भारतको वनारसमा, बि.सं १९७१ भदौं २४ मा। 

विपीले वनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिकशास्त्रमा स्नातक गर्नुका साथै कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका थिए। दार्जिलिङमा केही वर्ष कानुन अभ्यास गरेपछि उनी भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध भए। दोस्रो विश्वयुद्धताका भारतको स्वतन्त्रता आन्दोलनमा होमिए। त्यही क्रममा उनी धनबादमा पक्राउ परे। र, दुई वर्ष ब्रिटिस जेलमा थुनिए। 

भारत स्वतन्त्रापछि उनको पुरै ध्यान नेपालमा प्रजातन्त्र ल्याउन केन्द्रित भयो। उनले पहिले ‘समाजवादी नेपाली राष्ट्रिय कांग्रेस’ को नाममा राणाविरोधी आन्दोलनको मोर्चा तयार पारेका थिए। पछि सबै समूहसँग मिलेर नेपाली कांग्रेस स्थापना गरे। राणाविरोधी आन्दोलनका क्रममा उनी २००७ सालअघि दुईपल्ट पक्राउ परे। २००४ सालमा उनकै अगुवाईमा विराटनगरमा पहिलो मजदुर आन्दोलन भयो। उनकै अगुवाईमा कांग्रेसले राणाविरूद्ध सशस्त्र आन्दोलन सुरु गर्यो। 

२००७ सालमा राजा, राणा र कांग्रेसबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएपछि १ सय ४ वर्षे जहानीया राणा शासनको अन्त्य भयो। त्यसपछि बनेको राणासँगको मिलिजुली सरकारमा उनी गृहमन्त्री भए। 

त्यही बेला उनको हत्या गर्ने असफल प्रयास पनि भयो। देशभित्र र अनेकौं प्रपञ्च रचियो। उनी ९ महिनामै मन्त्रिमण्डलबाट बढारिए। 

२०१५ सम्म उनको राजनीतिक करिअर समाप्त पार्ने थुप्रै खेल भए। तर, विश्वव्यापी लोकप्रियताका कारण २०१५ सालमा निर्वाचन नगरी नहुने अवस्था आयो। कांग्रेसले दुई–तिहाई बहुमत ल्यायो। विपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। 

उनले आधुनिक भूमिसुधार, शिक्षा, स्वास्थ्यदेखि विकासका थुप्रै दुरगामी अर्थ राख्ने योजना ल्याए। संयुक्त राष्ट्र संघको महासभामा उनले गरिब राष्ट्रको विषयमा उठाएको मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ। 

तर, राम्रोसँग काम गर्न नपाउँदै राजा महेन्द्रले १८ महिनाको उनको निर्वाचित सरकारमाथि ‘कू’ गरे। उनले आफ्नो कार्यकालमा कुनै पनि राष्ट्रसँग देश हितमा नभएको सन्धिसम्झौता गरेनन्। 

शाही ‘कू’ पछि उनी ८ वर्ष सुन्दरीजलमा थुनिए। त्यसपछि फेरि भारतको वनारसमा निर्वासित भए। निर्वासननकै क्रममा नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा जहाज अपहरण भयो। 

यो घटनापछि भारत सरकारको रवैया बद्लियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘नेपालको वैदेशिक नीति र सुरक्षामा अधिकार दिने भए विपीलाई नेपाली राजनीतिमा पुनः स्थापित गराउने’ प्रस्ताव ल्याइन्। विपीले राष्ट्रियतासँग सम्झौता गर्न मानेनन्। 

त्यसपछि त भारत सरकारको नीति उनीप्रति अझ कडा हुँदै गयो। भारतले आफूलाई गोटी बनाएर नेपालमाथि हस्तक्षेप गर्न थालेको महसुस गरी विपीले त्यतिखेर सबैलाई चकित पार्ने निर्णय गरे–राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने। 

२०३३ सालमा नेपाल फर्किदा उनीमाथि राज्यविरूद्ध सशस्त्र युद्धको तयारी गरेको मुद्दा थियो। उनलाई विमानस्थलमै पक्राउ गरी महाराजगन्जस्थित पुलिस तालिम केन्द्र राखियो। त्यहीँ उनको घाँटीको क्यान्सर पत्ता लाग्यो। 

थुनामै हुँदा उनलाई उपचारका लागि अमेरिका लगियो। दुई वर्षपछि उनीविरूद्ध लागेको सम्पूर्ण सरकारले फिर्ता लियो। २०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा व्यापक धाँधली गरेर बहुदललाई हराइयो। विपीले धाँधली भएको जान्दाजान्दै नतिजा स्वीकार गरे। 

जनमत संग्रहका माध्यमबाट नेपालमा सानै भए पनि प्रजातान्त्रिक परिपाटी सुरु भएको थियो, विपीका लागि यो पहिलो जीत थियो। उनले जनतामा जाने निर्णयको स्वागत गरे। उनले राजा वीरेन्द्रसँग मुलुकलाई प्रजातान्त्रिक परिपाटीमा लैजान पार्टीहरूलाई चुनाव चिह्न दिन र वर्गीय संगठनका केही बुँदा हटाउन आग्रह गरे। तर, राजाले मानेनन्। 

त्यसैले कांग्रेसले २०३८ सालको निर्वाचनमा भाग लिएन। 

२०३९ साल साउन ६ गते क्यान्सरका कारण ६८ वर्षको उमेरमा काठमाडौंमा विपीको निधन भयो। 

विपी राजनीतिमा जति चर्चित छन्, साहित्यमा पनि उनको उत्तिकै नाम छ। उनका हिटलर र यहुदी, दोषी चश्मा, सुम्निमा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, जेल जर्नल, आत्मवृत्तान्तजस्ता उपन्यास र कीर्ति प्रकाशित छन्। 

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2020-07-21 10:19:00

प्रतिकृया दिनुहोस्