चिडियाखाना पछाडिको ग्राफ्टी वालबाट उनको ‘पेन्टिङ’ करीयर उदय भयो

 लुकेको कला –४ 

‘सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन..’

तारादेवीले लामो  गरी गाएको गीत सुन्नेहरु एकपटक जिन्दगीको गणित पल्टाउन लाग्छन् र भावुक हुँदै भन्छन्, ‘हो त ! के भएको छ र आखिर सोचेजस्तो?’ यो पछि यो, यो पछि ऊ भन्दै योजना बुन्नेहरुलाई लाग्दो हो जिन्दगी त घर फुत्किएको स्वीटर जस्तो रहेछ। त्यसैले कतिले त योजना बनाउन पनि छोडिदिन्छन्। आखिर मन बहलाउने तारादेवी छँदैछिन्।
०००

एका देशको कुरा थिएन, एका दिनको कुरा थियो। जुम्लाको हनुमान मन्दिर अगाडि साथिहरुसँग आराम (जुम्लाका केटाकेटीहरुले खेल्ने खेल) खेल्दै थिइन। त्यस बेला कोही आएर बाइकको एक्सीलेटर निमोठे जसरी पिडिक्क कान निमोठ्यो र भन्यो, ‘कस्ती छोट्टी (केटी) हो त यो। आ जाउँ, आज तेरो जाँच छ।’

जाँच के थियाे ? के का लागि थियो? किन गरियो? केही थाहा थिएन। कसैले घुँडा धसेर पढ्न पनि लगाएको थिएन। पास हुनुपर्ने वा फष्ट हुनुपर्ने प्रेसर पनि थिएन। केवल परीक्षा हलमा बसिन्। सोधिएका प्रश्नको उत्तर लेखिन्। 

प्रश्न के थिए? केही थाहा छैन। प्रश्न थाहा नभएपछि उत्तर के दिए? त्यो पनि मतलब भएन। सबै कुरा थाहा नपाएकी उनले एउटा कुरा भने थाहा पाइन। परीक्षाको केही दिन पछि उनी काठमाडौं पुगिन। नयाँ स्कुलको कक्षा कोठामा थिइन। काेठा बुढानिलकण्ठ हाइ स्कुलको थियो। 

बुढानिलकण्ठ स्कुलले हरेक दिन लगाउने हाजिरमा ‘प्रिजेन्ट सर/म्याडम’ भनिने एक आवाज जुम्लाकी सदीक्षा महताराको पनि थियो। त्यहीँ सुरु भयो बेहिसाब जिन्दगीको म्याराथुन। खेल्दा खेल्दै पिडिक्क पारिएको कान फेरी निमोठिने त थिएन। तर खरायोको भन्दा ठाडा र कुकुरका भन्दा तेज कान बनाउनु पर्ने थियाे।

कुरा सन् २००४ तिरको हो। त्यतिबेला उनलाई थाहा थिएन। उनले एस.एल.सी दिएको सालबाट गणना गर्दा थाहा हुन्छ, त्यो सन् २०६०/०६१ को थियो।

बुढानिलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना गराउने विद्यार्थी छान्नका लागि हरेक वर्ष २५ वटा जिल्लाका विद्यार्थी बीच प्रतिस्पर्धा गराइन्थ्यो। त्यस बेलाको ७५ जिल्लालाई हिसाब गर्ने हो भने हरेक तीन वर्षमा एक पटक एक जना विद्यार्थी ए जिल्लाबाट बुढानिलकण्ठ स्कुलमा पढ्न पाउने चक्रको निर्माण गरिएको थियो। त्यही चक्रको हिस्सेदार बनेकी थिइन्, सदीक्षा।

गर्वीलो छनोटको चक्रमा नजानिदो तवरले सामेल भएपछि उनले जिन्दगीको गणित मात्र कहाँ हो र! सबै विषयमा कुच गडबड भए जस्तो लाग्थ्यो। तर अधुरो भने थिएन।  

सन् २०१० को एस.एल.सी ब्याजबाट आउट भएकी उनले सुरुमा साइन्स पढिन्। बुढानिलकण्ठमा पढेका विद्यार्थीको गुडवील (ख्याती) नै फरक। त्यसमाथि प्रथम श्रेणी भन्दा तलको नतिजा नै नआउने भएको हुनाले एक खालको प्रेसेर थियो, ‘साइन्स पढ्नै पर्ने’। त्यसैको घानमा आफ्ना रुचि सबै मारेर घुन पुल्ता झैं पिसिनेमा उनी पनि परिन्। त्यसैले प्रेसरमा साइन्स पढिन्। मेहेनतको हाइ अल्टिच्युडवाला म्याराथन कति कठिन हुन्छ त्यो प्रेसरमा साइन्स पड्नेहरुलाई नै थाहा छ। लाग्छ प्रेसरमा साइन्स पढ्नेहरुको अनुभवहरुको गठजोठ नै आमिर खान अभिनित चलचित्र, ‘थ्रि इडियट’ हो। जसले आफ्नो रुचिमा फोकस हुन सिकायो र आफैलाई प्रश्न गर्न पनि। 

११, १२ पछि साइन्स पढ्न मन लागेन। चार कक्षा देखिको पढाइको प्रेसर सायद उनको शरीरले थेगेन। उनले कम पढ्दा पनि पास हुने विषय रोजिन्, ‘होटेल म्यानेजमेन्ट’। स्नातक सकाइन। हाल भविष्य यसैमा देखेकी छिन्। तथापी तमाम कठिनाइहरु त छँदैछन्। 

आजभोलि उनलाई लाग्छ होटल म्यानेजमेन्ट पनि रुचिको विषय थिएन। उनको रुचि पेन्टिङमा छ। उनी सानै देखि पेन्टिङ गर्न रुचाउँथिन्। रंगहरुसँगको लगाव पनि उमेरसँगै बढेको हो। 

उनी मान्छेको अनुहार दुरुस्तै बनाउँदिनन्। त्यसमा पनि उनको खास रुचि छैन। दुरुस्तै अनुहार बनाउनु मात्र पनि पेन्टिङ होइन। त्यो पेन्टिङको एउटा पार्ट हो। उनी खास गरी कलरहरुको लिपपोत गर्छिन्। जसरी आमाहरुले राताे माटो, सेतो कमेरोले लिपपोत गर्छिन्। कलरहरुको लिपपोतले लिने नयाँ आकर्षण नै उनको पेन्टिङ हो। कला हो। 

पेन्टिङ उनको रुचिको विषय हो। तर यसबारे औपचारिक ज्ञान लिएकी छैनन्। सानोमा लियोनार्दो दा भिन्ची पढिन्। कम्मर भन्दा उँधो नदेखिएकी मोनालिसा पढिन्। त्यो बाहेक उनले खासै अरु कलाकार पढिनन्। उनलाई लाग्छ काम चलेको छ। अब पढेर गर्नु पनि केही छैन। 

‘कुन कुन कलर मिसाउँदा कस्तो नयाँ कलर बन्छ? कस्तो खालको पेन्टिङ आकर्षक देखिन्छ? यसबारे केही जानकारी छ,’ उनले भनिन्, ‘भविष्य यसैलाई बनाएकी छैन। कति जानकारी गुगल, युटुबमा पनि पाइन्छ। त्यहि मिसमास गरी नयाँ बनाउने हो। चलिरहेको छ।’

तथापी उनले पेन्टको महत्त्व बुझेकी छिन्। पेन्टिङ कति मूल्यवान हुन्छ त्यो पनि बुझेकी छिन्। तर घर परिवार, आफन्त, स्टमित्र, समाज कसैले कलाकारितालाई बुझ्न सकेका छैनन्। त्यसैले घुम्तिमा मोडिएने गाडी झैं मोडिएको हाे उनकाे भविष्य र योजना। त्यसैले युग युग बाँचिरहन्छिन् तारादेवी।

सदीक्षाको निष्कर्ष छ, ‘पेन्टिङ मेरो रुचिको विषय हो। जुन म जिन्दगीभर गरिरहने छु।’

खास गरी उनी कसैले बनाएका पेन्टिङहरुको कपि गर्छिन्। केही फरक खालका पेन्टिङहरु भेटियो भने दुई तीनवटा मिसाउँछिन् र नयाँ खालको देखाउने कोसिस गर्छिन्। यो पनि उनले लकडाउन भएपछि नै सुरु गरेकी हुन। ‘लकडाउन नभएको भए होटलमा काम सुरु हुनेवाला थियो। भएन। अब के गर्ने? सँधैको एउटा पिरलो भयो,’ उनले भनिन्, ‘केही नगरी नहुने। खाली समय कटाउनलाई पेन्टिङ सुरु गरे। उत्साहित गरायो।’

यो उनको लागि काइदाको काम भयो। उनले सुरुमा काठमाडौंमा रहेको फुपुको घरको बाहिरी भित्तामा पेन्ट गरिन। पछि सबैको सकारात्मक प्रतिक्रिया आयो। ‘साथीहरुले वाआे भने। थप हौसाला मिल्यो,’ उनले भनिन्, ‘सबैले यसलाई विस्तार गर्न सुझाए। त्यसपछि काठमाडौंको चिडियाखाना पछाडिको ग्राफ्टी वालमा पेन्टिङ गरे। त्यो पनि राम्रो भयो।’ 

फ्रिमा चिडियाखाना पछाडि पेन्टिङ गरेपछि उनको कलाको विस्तार भयो। उनले काम पनि पाइन। काष्टमाण्डप टेलिभिजको भित्तामा केही पेन्ट बनाइन। जसबाट उनले पारिश्रमिक पनि लिइन्। उनलाई अनौठो लाग्यो। होटल म्यानेजमेन्ट पढेकी उनलाई राम्रो होटलमा काम पाउन र राम्रो तलब पाउन मुस्किल छ। महिनामा १०, १२ हजार पाउने काम मात्र पाइन्छन्। त्यो भन्दा माथि पारिश्रमिक पाउन आफ्नो मान्छे पावरमा हुनुपर्छ। तर उनले दुई दिनमा १० हजार कमाइन। 

उनलाई लाग्यो, ‘पेन्टिङबाट कमाइ नहुने होइन। भविष्यको खोजी गर्न पनि सकिन्छ। तर पेन्टिङको भ्यालु बुझेर काम लगाउने कष्टुमर कति नै छन् र?,’ उनी थोरै निराश मुद्रामा बोलिन, ‘आफन्तकोमा गयो भने हाम्रो काम अनुसारको मोल पाउने चान्स एकदम कम हुन्छ। त्यसमाथि पेन्टिङको विकल्पमा अरु थुप्रै प्रविधि आइसकेको हुनाले धेरैले त्यही प्रयोग गर्छन्। यसरी पनि रुचि र कामकाे तालमेल हुँदैन।’ 

उनी घरका भित्ता अलवा प्लेन जुत्ता चप्पालमा थप आकर्षण भर्न पेन्टिङ गर्छिन्। त्यसमा कार्टुनहरु बनाउँछिन्। आफूले बनाएका थुप्रै पेन्ट साथीहरुलाई गिफ्ट दिएकी छिन्। यत्ति हो उनी व्यावसायिक रुपका अगाडि आउने आँट गररहेकी छैनन्।

 लकडाउन दशैसम्म पनि लम्बिने छाँटकाँट देखेपछि उनी जुम्ला आएकी छिन्। केही दिनमा उनले जुम्लामा पनि पेन्टिङ गर्दैछिन्। सरकारले लकडाउन सकिएको औपचारिक घोषणा गरे पनि कति ठाउँमा निषेधाज्ञा जारी गर्ने देखि सिल गर्नेसम्मको काम भइरहेको छ। यसैबीच सदीक्षाको पेन्टिङ यात्राले पनि निरन्तरता पाइरहेको छ। 

पेन्टिङमा उनले भविष्य खोज्छिन् खोज्दिनन् त्यो त तपशिलको विषय हो। तर जसरी लकडाउन थपिएको छ, त्यसरी उनको पेन्टिङ यात्रा पनि क्रमशः लम्बिदै गएको छ। ‘ब्ल्याक स्टाेन बेकरी हाउस’को भित्र मैले कफिको अन्तिम चुस्कि लिदा उनले आफ्ना कुराकाे बिट मारिन। बाहिर सिमसिमे पानी परिरहेको थियो। मनमा तारादेवीले लामाे गरी गाएको स्वर गुन्जिरहेकाे थियाे, साेचे जस्ताे हुन्न .....।

प्रकाशित मिति: Aug 12, 2020 19:33:14

प्रतिक्रिया दिनुहोस

सबै