नेपाली कम्पनी एफवान सफ्ट ‘साउथ एसिया विजनेश अवार्ड २०२०’ जित्न सफल

एफवान सफ्ट आईटी कम्पनीले नेपालमै पहिलो पटक ‘साउथ एशिया विजनेश अवार्ड २०२०’ हात पार्न सफल भएको छ ।

बेलायतमा रहेको एपेक्क इन्साइडर विजनेश म्यागेजिनले विजनेश इम्प्याक्टको आधारमा एफवान सफ्ट कम्पनीलाई पुरस्कृत गरेको हो ।

अवार्ड ग्रहणा गर्दै कम्पनीका अध्यक्ष विश्व ढकाल नेपालमै पहिलो पटक अवार्ड भित्र्याउन पाउँदा खुसी लागेको बताउँछन् ।

उनले भने, ‘नेपालमा पहिलोपटक हामीले साउथ एशिया विजनेश अवार्ड २०२० नेपाल भित्र्याउन सफल भएका छौँ । यो हाम्रा लागि मात्र नभएर सिंगो नेपालकै गर्वको विषय हो ।’ 

‘निरन्तरको परिश्रमले दक्षिण एशियाकै प्रतिष्ठित कम्पनीको रुपमा एफवान सफ्टलाई उभ्याउन पाउँदा निकै खुसी छौँ,' उनले भने, ‘अहिले विश्वनै कोरोना भाइरसको महामारीमा जुधिरहेको अवस्थामा इनोभेटिभ कम्पनीको आवश्यकता झनै बढेको छ । त्यसैले यस क्षेत्रमा थप लगानी गर्नु आवश्यक छ । नेपाल पनि विस्तारै प्रविधितर्फ मोडिदै गएको अवस्थामा हाम्रो अवार्ड युवा वर्गका लागि प्रेरणादायी बन्न सक्छ ।’ 

यो अवार्ड हरेक वर्ष बेलायतमा रहेको विजनेश म्यागेजिन ‘एपेक इन्साइडले’ दिने गर्दछ । दक्षिण एशियामा विजनेशको असरको आधारमा यो अवार्ड दिइने गर्दछ । नेपाली कम्पनीले यो अवार्ड जितेको पहिलो पटक हो ।

एफवान सफ्ट कम्पनी नेपालकै ठूलो डिजिटल कम्पनी हो । यसले नेपालको वित्तीय क्षेत्रमा काम गर्दै आएको छ । एफसफ्ट वान अन्तर्गत इसेवा, फोन  पे लगायत अन्य पाँच वटा कम्पनी सञ्चालनमा छन् । 
 

प्रकाशित मिति: : 2020-08-14 18:04:43

प्रतिकृया दिनुहोस्