केवल २० सेकेन्ड

देखापढी

काठमाडौँ

विगत ६ महिनामा मानिसका कतिपय आदत र व्यवहारमा परिवर्तन आएका छन्। हामीले मित्रगण भेट हुँदा हात मिलाउन छाडेका छौं, अँगालो मार्न पनि बिर्सेका छौं।

सम्भवतः अब हामी कहिल्यै यी आदतलाई जीवनमा प्रवेश गर्न दिने छैनौं। ती आदत खराब थिए, कम्तीमा कोरोनाले यो तथ्य हामीलाई यस पटक राम्ररी बुझाइदिएको छ।

यसका अतिरिक्त हामीले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र सेल्फ आइसोलेसन वा क्वारेन्टिनमा बस्न पनि सिकिसकेका छौं। रोगविरुद्ध लड्न सक्ने पौष्टिक आहार खानुपर्ने कुरा पनि सिकेका छौं।

हामीले जथाभावी नथुक्न, खोक्दा र हाच्छ्युँ गर्दा हात वा रुमालले मुख छोप्न जानेका छौं। तर अर्को एउटा अति महत्वपूर्ण आदतलाई भने हामीले अलि कम ध्यान दिन थालेका छौं। त्यो भनेको हात धुनु हो।

कुनै अपरिचित वस्तु छुँदा वा कतै बाहिरतिर गएर घर फर्कंदा हात धुनु अब अनिवार्य आदत बनाउनु जरुरी छ। हात धुँदा कोरोना भाइरसमात्र होइन, अन्य कतिपय सरुवा रोगबाट समेत  आफूलाई अरुलाई जोगाउन सकिन्छ।

हामीबाट कोरोना भाइरस अझै पर भागेको छैन। उसलाई बाँच्नका लागि मान्छेको शरीर वा अंग आवश्यक पर्छ। त्यो अदृश्य जीव विशेषगरी मानिसको हात हुँदै नाक, मुख र आँखाबाट शरीरभित्र प्रवेश गर्छ र फोक्सोलाई छियाछिया पार्छ।

कोरोनालाई हामीले बोकेर ल्याउँछौं, त्यो आफैं हिँडेर वा उडेर आउँदैन। र, त्यसलाई बोक्ने मुख्य मानवअंग भनेको हात नै हो। त्यसकारण पनि हात धुनु अनिवार्य छ भनिएको हो। हात धुँदा पानीसँग साबुन आवश्यक पर्छ।

प्रकाशित मिति: : 2020-08-21 18:52:26

प्रतिकृया दिनुहोस्