गुलाफको मृत्यु

भाग २

(यो भाग लेख्दै गर्दा म सम्झिरहेछु ती बोटहरू, जहाँबाट कहिलेकाहिँ गुलाफ आत्महत्या गर्छ!)

नमस्कार! म (जबर्जस्ती बाँचिरहेकी। जबर्जस्ती बचाइएकी।) अर्थात बाँकी रहेको कथाको न्यारेटर बिज्ञान राजले अर्थात यो कथाको लेखकले धेरै नै जोड गरेर म तयार भएकी हुँ। यो कथालाई न्यारेट गर्न वा यस कथालाई अन्त्य गर्न। त्यसैले मेरा कुरा सचेत भएर सुनः सुहाना, आहान र पाठक।

मेरो नाम..... आ..! छोडनुहोस् नाममा के छ र? बरू आउनुहोस् कथामा प्रवेश गरौं।

मेरो बुबा र आहानको बुबा बालापनदेखि मिल्ने साथी।

दिनहरु सब ठिकठाक चलिरहेका थिए। अचानक एकदिन मेरो बुबाआमाको दृर्घटनामा ज्यान गयो। र क्रमिक सिलसिला तोडिन पुग्यो। ठिक त्यस दिनदेखि हो मेरो जीवनको चक्र उल्टो घुम्न थालेको। त्यसपछि सुल्टो घुम्ने हर प्रयास असम्भव साबित हुँदै गए।

त्यति खेर म भर्खर एस.एल.सि दिएर बसेकी थिएँ। पढाई त्यसै दिन टक्क अडियो। साथै ‘नर्स पढेर संसारका सारा मानिसहरुलाई निःशुल्क सेवा गर्ने’ मन पनि त्यसै दिन खोर्के खोलामा बगेर समुन्द्रमा मिस्सियो। उफ! मन नभएकी मान्छे म। भर्खरै सपनाले छाडेर गएको वियोगान्त म। फगत ‘छु’ भन्ने आश। फगत ‘छैन’ भन्ने लाश।  

बुबा आमाको मृत्यु पश्चात म नजिकको नातेदारको घरमा बस्थेँ। मुर्दा झैं। शून्य सरह।

एकदिन अपरान्ह आहानको बुबा घरमा आउनुभयो। उहाँले मलाई लिएर सिधा आफ्नो घर हिँड्नु भयो। माफ गरिदेउ आहान त्यसबेलासम्म मलाई केही थाहा थिएन-कि तिम्रा बुबाआमा हाम्रो बारेमा कुरा गर्दै हुनुहुन्छ भन्ने।

दिनौं म उद्देलित भइरहेँ। महिनौं मग्न रहेँ। के भनुँ? के नभनुँ?

मलाई यहाँनेर सकस भएको थियो। कि मैले यो सुनेकी थिएँ तिमी अरू कसैलाई, पछि थाहा पाए ऊ सुहाना हो, सुहानालाई मन पराउँछौं।

यसपछि म झन् आतंकित भएँ। पलपल जागृत भइरहेँ। यहिँ भनुँ? गमिरहेँ, गमिरहेँ। यै भनिहालुँ?

मैले विवाह (उफ! भैसकेको कुरा भन्न पनि कति सकस)....हो नचाहँदा नचाहँदै गरेँ।

सरी सुहाना!

मैले तिमीलाई तिम्रो आहानबाट छुट्टाएँ।

सरी आहान!

मैले तिमीलाई तिम्रो सुहानाबाट छुट्टाएँ।

अँ सुहाना रून रोकेर, मलाई सुन, म केही भन्दै छु ....

आहानले सरासर विवाह अस्वीकार गरिदियो। घरमा माहोल गरम हुँदै गइरह्यो। एक आपसमा वादचित हुँदै नहुँने। यदि भैहाल्यो भने पनि कलह मात्र। एक साँझ त बोलाबोल अति नै भयो। रिसको झोकमा आहानको बुबाले चक्कु आफ्नो गलामा राखेपछि मैले पन्छिने, आहानले पन्छिने वा बाटो फेर्ने सायद अर्को कुनै बाटो भएन। हुँदो हो तर देखेनौं। तिमी आफैं भन त। के अर्को कुनै बाटो हुन सक्थो त्यो ?..त्यो शोकाकुल अवस्थामा...! संसारमा आफू एक्लो भइराखेको यर्थाथमा? उफ! केही त भन। जे सुकै। तर भन। भनिहाल।

विवाह गरेको छ महिना भोलि पुग्दै थियो। आहान अफिस गएको थियो। म फल्याटमा एक्लै थिएँ। अघि आहानले कपडा धोइदिनु भनेर फालेका कपडा धोएर सुकाउन भनि तीन तला माथि गएको थिएँ। इँट्टाको थुप्रो, त्यसको छेउमा जाली राखिएको थियो। त्यसैमा लटपटिएर म खसेछु। होसमा नहुँदा खेरि म काठमाडौं हुँदै इन्डियाका विभिन्न ठाउँमा पुगेँ। जब होस् आयो, म हिँड्न नसक्ने भर्खर जन्मिएको नवजात शिशु जस्ती भएर फर्किदै थिएँ। फल्याटमा नलगेर सिधै घर लगियो। आफन्तहरु आए। साथीहरु आए। समाज आयो। जति आए, सबैको एउटै राय थियो, ‘गुलाफलाई सबैको सामु राख्नुपर्छ। सबैले देख्ने ठाउँमा। सबैले स्यारसुसार गर्ने गरि।’

तर आहान तिमीले इन्करार गर्‍यौ। आफूसँगै राख्छु भनेर लड्यौ। घर त्याग्यौ। समाज लत्यायौ। जागिर सरुवा गरायौ। टाढा धेरै टाढा। यो अन्जान ठाँउमा ल्याएर आयौं। दुई तले घरको दोस्रो फल्याटमा लग्यौ। लग्नु भन्दा अघि घरबेटीसँग तलका दुईटा बुदाँमा सहमति गरायौ।

१) मेरी श्रीमती यस्तो भएको कुरा तपाईँ बाहेक अरु कसैलाई पनि थाहा नहोस्,

२) सक्नुहुन्छ प्रेम गरिदिनुहोस्, सक्नुहुन्न घृणा नगरिदिनुहोस्।  

घरबेटी काकी आनाकानी गर्दैथिन्। तर काकाले हस्ताक्षर गरिदिनु भयो। धन्यवाद काका! पुरुष भएर पनि महिलाको मनोभाव बुझिदिनु भएकोमा। हो सहमति पत्रका दुईटै माग मेरा थिए।

अँ! साँच्ची सुहाना!

थाहा छ तिमीलाई? आहानले मेरो कपडा फेरिदिन्छ। धोइदिन्छ। मलाई नुहाइदिन्छ। मेरो दिशा पिशाब पखालिदिन्छ। अनि म रिसाएको दिन ऊ नै माफी माग्छ। ऊ रिसाएको दिन पनि ऊ नै माफी माग्छ। मैले कहिले पनि उसलाई केही दिन सकिँन। विचरा विगत बिर्सिदै थियो। न राम्ररी बिर्सिन दिएँ। प्रेमको खाँचो थियो उसलाई। न पुग्दो प्रेम दिएँ। न सन्तुष्ट यौन नै दिन सकेँ। जे दिएँ, दिन नहुने कुराहरु दिएँ। माफ गरिदेउ सुहाना मैले तिम्रो आहानलाई खुशी दिन सकिनँ। खुशी राख्न सकिनँ। माफी त दिन्छेउ नि सुहाना? कि दिन्नौं?

तर एक्लो हुँदा एक्लोपन कति विषादी हुन्छ। आधा बाँचेको आधा मरेको जीवन बाँच्न कति बिरत्ति हुन्छ। यत्रो अन्तहिन ब्रम्हाण्डमा एउटा बिस्तारामा बाँच्नु कति भयानाक दृश्य हो। कति पीडादायक महशुस हो-आफैंले आफैंलाई छुँदा स्पर्श नहुनु। उत्तेजना नहुनु। एउटा यहिँ अँध्यारो कोठा मेरो निम्ति संसार भएको छ। कोठा भित्रका चिजबिजहरू, सर–सामानहरु, अँध्याराहरू, उज्यालाहरू मेरा साथि, परिवार, आफन्त, देश, विदेश जे भनौ वा यो भनौ केही/यी थोक सबथोक भएका छन्।

हात हल्लाए भने, टाउको सराए भने, ओट चलमलाए भने लाग्छ निकै लामो यात्रा गरे। त्यो झ्यालको पर्दा अलिकति सर्‍यो भने बाहिरको कुन दृश्य देखिन्छ? थाहा छैन।

अरे! मलाई यो पनि त थाँहा छैन, मनको पर्दा अचानक खुल्यो भने के के देखिन्छ?

हरेक बिहान झ्यालबाट आउने घामका किरणहरू मेरो बिस्तरा भन्दा अलि पर जहाँ मेरो शरीर पुग्न सक्दैन, मन पनि धौधौ निकै दुःखले पुग्छ तर राम्ररी स्पर्श गर्न नपाउँदै अस्ताई हाल्छन्, त्यँहा खस्छन्। हावा आउँछ। छुन्छ। अनि जान्छ। जीवन्त चिज केही छ, त्यो अँध्यारो छ। जो जुन दिन आयो, त्यस पछि जाने सोचेन। गएन पनि।

आहान दिउँसो तिर अफिस जान्छ। अनि म एक्लो हुन्छु। नितान्त एक्लो। जसरी एक्लो हुन्छ बगर, खोलि गएपछि। जसरी एक्लो हुन्छ रूख, दिन गएपछि। रात आएपछि।

मलाई दिन देखि अत्यन्तै डर लाग्छ। दिन अर्थात उज्यालो। जसको आँखामा अँध्यारो लेखिएको छ, उसले कसरी उज्यालो पढ्न सक्छ र? तर दिन नकाटी रात कहाँ आउथ्यो र! त्यसैले काट्नै पर्ने बाध्यता। काटेँ। कहिले सुतेर। कहिले ह्वील चियरमा बसेर। कहिले रोएर। कति दिन त काट्नै नसकेर पनि काटेँ। तर कुनै एक दिन पनि चैनले काटेन।

आहान नभएको बेला यदि कसैले ढोका उगारिदियो र टुलुटुलु हेरिदियो भने। यो कुरा सोच्दै म खुब डराउँछु। हे भगवान! ढोका, मनको र कोठाको, आहान बाहेक अरु कसैले पनि न खोलोस्। न हेरोस्। किनकि ठयाक्कै थाहा छैन म कस्ती भएकी छु। हुलीया देखाउने अगलबगलमा यतिखेर न ऐना छ न दुश्मन नै छ। कस्ति अभागी म, मित्र त कमाएन कमाएन। दुश्मन पनि कमाउन सकिनछु। छि...! धिक्कार्न मन लाग्छ। सराप्न मन लाग्छ। मन परि गाली गर्न मन लाग्छ आफैंलाई।

के त्यस्तै छ होला –टाउकोमा सिल्की कपाल? के उस्तै छ होला-ओठमा चञ्चलता? खुट्टाको नङमा पालिस लगाएको थिए, छ होला र अबसम्म? के म उही छु होला? उस्तै छु होला?

सुहाना, प्रेम सबैले गर्न सकिने चिज हो। तर कुनै एक व्यक्तिलाई सबैले प्रेम गर्न सक्दैनन्। उसलाई प्रेम केबल उसले मात्र गर्न सक्छ जो साँच्चै उसकै लागि लेखिएको छ। मैले आहानलाई प्रेम गर्न सकेन। किनकि तिमी उसको लागि लेखिएकी छौ। उसले मलाई प्रेम गर्ने बाहानामा तिमीलाई गरिरहेको छ। मैले सुनेकी छु, पलपल ऊ रोएको। हर रात निन्द्रामा उसले तिम्रो नाम जपेको। ऊ तिम्रो केबल तिम्रो हो। सुहाना, आहानलाई तिमी बाहेक अरु कसैले पनि राम्रोसँग प्रेम गर्न सक्दैन। त्यसैले तिम्रो आहानलाई तिम्रो जिम्मामा छाडेर जाँदैछु। म गए ल आहान। म गए ल सुहाना।

अलबिदा!

त्यसै साँझ, अर्थात विवाह गरेको एक वर्ष पुग्नुको अगेल्नो साँझ, करीब आठ बजे तिर, जब आहानका खुट्टा तरकारी ल्याउन चोक तिर हिँडे। अचानक ह्वील चियरका पाङग्रा झ्यालतिर गुडे। मसिनो डोरी सुरूमा झ्यालमा बाँधियो। त्यसपछि घाँटिमा । केही छिनमै भर्खरै केही छिन अघिको एउटा ज्यूँदो शरीर लाशमा परिणत हुन पुग्यो।      

अर्थात गुलाफको मृत्यु भयो। अथवा यसलाई यसरी भनौ, ‘गुलाफले आत्महत्या गरिन्।’    

त्यो घर भन्दा अलि तल, ठिक अर्को साइडको घर, जो एकदमै पुरानो छ र जसलाई टायल लगाएको घर भनेर पनि चिनिन्छ। त्यसको पहिलो तलाको बाँया पट्टिको कोठामा, यतिखेर ठिक एघार बजेर सत्र मिनेट गएको छ। त्यहाँ चुरोट र चिया सुर्काउँदै ल्यापटपमा कोही अर्थात म। म अर्थात दिउसो गुलाफको मलामी गएर आएको। सायद तपाईहरुले मलाई देख्नु भएको पनि हुन सक्छ। हो म त्यहिँ जो गुलाफको बारेमा सोधिरहेको थिएँ। केही अर्थात त्यहिँ लेखिरहेको छु। अथवा गुलाफको मृत्यु लेखिरहेको छु।    

(संयोगवस्, यो भाग लेखिसक्दा म साँच्चै देखिरहेछु ती बोटहरु, जँहाबाट गुलाफ आत्महत्या गरिरहेछ।)                                                                                   

यो कथाबाट अलविदा!

अन्य कथाहरुमा भेट हुने नै छ।

गुलाफ

प्रकाशित मिति: : 2020-08-22 11:05:54

प्रतिकृया दिनुहोस्