अमेरिकामा अर्को अश्वेत नागरिक माथि गोली प्रहार (भिडियो)

संजोग आचार्य

न्युयोर्क

अमेरिकामा अश्वेत नागरिकमाथि अर्को मानवता विरोधी घटना बाहिरिएको छ। विस्किन्सन सहरको केनेसा क्षेत्रमा आइतबार दुई प्रहरीले अश्वेत नागरिक ज्याकब ब्ल्याकलाई उसैको केटाकेटीका अगाडि ढाडमा गोली हानेका छन्। 

हाल अस्पताल भर्ना भएका ज्याकबको अवस्था चिन्तामुक्त रहेको बताइएको छ। उनलाई किन गोली हानिएको यसको कारण खुलेको छैन। 

ज्याकबका वकिल बेन क्रम्पले पुरै घटनाको भिडियो सोसल मिडियामा सेयर गरेका छन्। भिडियोमा पुलिसले ज्याकबलाई गोली हानेको प्रष्ट देखिएको छ। सोसल मिडियामा पुरै घटनाको भिडियो सार्वजनिक भएपछि यसको विरोध गर्दै केही न्यायप्रेमी अमेरिकीहरू केनोस कोर्टहाउसमा प्रदर्शनमा उत्रिएका छन्।

पहिले जस्तै अन्य दुर्घटना ननिम्तियोस् भनेर स्थानीय सरकारले कर्फ्यू लगाएको छ। 

सोमबारदेखि सुरू भएको प्रदर्शनमा प्रदर्शनकारीहरू पब्लिक सेफ्टी बिल्डिङमा प्रवेश गर्न खोजेका थिए। घटनाको दिन आइतबार राति नै सयौंको संख्यामा प्रदर्शनकारीले पुलिस हेडक्वार्टर अगाडि जुलुस निकालेका थिए। प्रदर्शनकारीले ज्याकबलाई गोली हान्ने पुलिसकर्मी माथि कारवाही हुनुपर्ने माग राखेका छन्। 

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका छन्। केही गाडीमा आगो लगाइएको छ भने प्रहरीले भिडलाई नियन्त्रणमा राख्न टियर ग्यास र गोली चलाउनु परेको थियो। हाल दंगा भएको क्षेत्रमा नेशनल गार्डका २ सय जवानलाई सुरक्षाका लागि उतारिएको छ। गर्भनर टोनी एभर्से स्थानीय जनतालाई शान्तिपूर्वक प्रदर्शन गर्न अपील गरेका छन्। 

केनोशा पुलिसले विस्किन्सन क्रिमिनल इन्भेस्टिगेसन डिभिजनलाई घटनाको छानवीन गर्न आदेश दिएको छ। गोली हान्ने प्रहरीलाई छुट्टिमा राखिएको स्थानीय केही पत्रिकामा उल्लेख गरिएको छ। 

दुई महिनाभित्र अमेरिकामा अश्वेत नागरिक माथि प्रहरीले गोली हानेको यो दोस्रो घटना हो। १२ जुनमा अटलान्टाको जर्जियामा पक्राउ गर्ने क्रममा २७ वर्षीइ रेसर्ड ब्रुक्सलाई पनि गोली हानिएको थियो। यो घटनामा आन्दोलन तीब्र हुने देखिएपछि अटलान्टाका प्रहरी प्रमुखले राजीनामा गरेका थिए। २५ मेमा मिनिपोलिसमा ४० वर्षीय अश्वेत जर्ज फ्लोयडलाई प्रहरीले घाँटीमा घुँडाले ९ मिनेट थिचेर मारेका थिए। यस घटनाको अमेरिकामा मात्र होइन, विश्वभरी निन्दा भएको थियो। फ्लोयडको निधनको विषयाई लिएर अमेरिकाको १ सय ४० सहरमा प्रदर्शन भएको थियो भने सरकारले ४० सहरमा कफ्र्यू लगाउनु परेको थियो। 

अमेरिकामा राष्ट्रपति पदको निर्वाचनको मिति नजिकिँदै जाँदा भइरहेको यस्ता घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफ्ठेरोमा पार्ने आङ्कलन गरिएको छ।

प्रकाशित मिति: : 2020-08-25 22:21:55

प्रतिकृया दिनुहोस्