भर्चुअल तेक्वान्दोको तयारी पूरा

फाइल तस्वीर

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १ सय ७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३ औं सागका स्वर्ण विजेता निता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३ औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउदै छन् ।

शनिबार र आइतबार हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुने छ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराए । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले भिडियो सन्देश मार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।
 

प्रकाशित मिति: : 2020-08-28 21:28:01

प्रतिकृया दिनुहोस्