श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्यो, अरु सर्त अन्योलमै

सरकारले वैदेशिक रोजगारीमा जान चाहनेका लागि श्रम स्वीकृति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । श्रम स्वीकृति पाइसकेका युवालाई वैदेशिक रोजगारीमा पठाउने निर्णय त गरिएको छ, तर महामारीका बेला रोजगादाताले के कस्ता सर्त पूरा गर्नुपर्ने हो भन्ने स्पष्ट पारिएको छैन । 

अहिले आठ हजार श्रमिक कोरिया जाने प्रतीक्षामा छन् । कोरियाले यसअघि आफूकहाँ काम गरिसकेकालाई तालिम दिन नपर्ने भएकाले प्राथमिकता राखेको छ । श्रम मन्त्रालय भने दोहोर्‍याएर जान चाहनेका साथै भाषा परीक्षा पास गरेका नयाँ युवालाई पनि पठाउने लबिङमा छ । यस्तै छुट्टीमा आएका श्रमिकलाई पठाउने विषयमा पनि मन्त्रालयले विदेशस्थित नेपाली नियोगसँग छलफल थालेको छ । देशभित्र रोजगारीका अवसर नभएकाले विदामा आएका कतिपय श्रमिक उतै फर्कन चाहिरहेका छन् । 

सरकारले दुई महिनामा करिब ५ हजार युवालाई पुनः श्रम स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार अब नयाँश्रम स्वीकृति पनि दिइनेछ । तर महामारीका कारण अहिले खाडी मुलुकबाट श्रमिकको खासै माग आएको छैन । त्यस्तै त्यहाँ कार्यरत श्रमिकले नै रोजगारी गुमाएकाले स्वदेश फर्काउन हारगुहार गरिरहेका छन् । तिनलाई ल्याउनकै लागि मंगलबारदेखि नियमित र उद्धार उडान गरिँदैछ । यस्तो बेला कुन देशमा कस्तो सम्झौता गराएर श्रमिक पठाइन्छ त ? महामारी कायमै रहेकाले अहिले वैदेशिक रोजगारीमा पठाइने श्रमिक जोखिममा त पर्दैनन् ? सरकारी अधिकारी ठोस जवाफ दिनसक्ने अवस्थामा छैनन् । 

रोजगारी सुनिश्चित रहेका युवालाई पठाउनका लागि श्रम स्वीकृति दिनु त स्वाभाविकै हो । तर यसअघि नेपाली श्रमिकको धेरै माग हुने देशमा महामारी नियन्त्रण भइनसकेको वास्तविकतालाई पनि भुल्नु हुँदैन । अन्यथा देशभित्र रोजगारीका अवसर नरहेको नाममा सिधासाधा युवालाई अनेक प्रलोभन देखाएर बिचौलियाहरुको ठगीधन्दा फेरि मौलाउनेछ ।  

प्रकाशित मिति: : 2020-09-01 11:11:20

प्रतिकृया दिनुहोस्