गिताको संघर्ष–कमलरीदेखि ‘मकैवाली’ सम्म

 भूइँ मान्छे–२ 

नेपालको पश्चिम तराईमा बँधुवा मजदुरी/कमलरी प्रथा प्रचलनमा थियो । यस प्रथामा निश्चित रकमका लागि बाबुआमाले साहुको घरमा छोराछोरीलाई काम गर्न पठाउनु पर्थ्यो। पहिला विशेषगरि थारू समुदायका छोरीलाई जमिनदार र सम्भ्रान्त वर्गले कमलरीको रुपमा काममा लगाउँथे। ऋण चुक्ता नहुन्जेल त्यस बच्चालाई साहूले घरायसी काम गराउन सक्थ्यो।

यसरी सानै उमेरदेखि जमिनदार र सम्भ्रान्त वर्गले घरायसी मजदुरका रूपमा राख्ने कामलाई कमलरी राख्ने भनिन्छ। यसको प्रमुख कारण हो, गरिबी र अशिक्षा। पछिल्लो चरणमा मानव अधिकारको व्यापक बहस र समाजमा शिक्षाको स्तर बढ्दै जाँदा यसको उन्मूलनतर्फ पाइलाहरू चालिए। फलस्वरुप सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गर्‍यो। त्यसरी कमलरी राख्ने चलन प्रायः ती जिल्लामा अहिले पनि भित्रिरुपमा प्रचलनमा छ। बिएल नेपाली सेवाले शुरू गरेको भूइँ मान्छे श्रृंखलामा हामी एक पूर्व कमलरीको संघर्षका बारेमा चर्चा गर्दैछौ।

गिता थारू (३३) पूर्व कमलरी हुन्। उनी बाँकेको कोहलपुर–११ को मुक्त कमैया बस्तीमा बस्छिन्। त्यहाँ करिब १५ घरदुरी मुक्त कमैया बसोबास गर्छन्। ज्याला मजदुरी उनीहरुको जिविकोपार्जनको प्रमुख स्रोत हो। गिताको बाँच्ने आधार पनि मजदुरी नै हो। उनको चार जनाको सानो परिवार छ। श्रीमान राम लहुटन कार्पेन्टरको काम गर्छन्। उनी मकैको व्यापार गर्छिन्। दुई जना छोरा छन्। यसरी उनले मकै पोल्ने व्यापार गर्न थालेको मात्रै १५ वर्ष भयो। सानो परिवार खुसी परिवार भनिन्छ। तर गिताको आधा जीवन संघर्ष मै बित्यो। अहिले संघर्ष गरिरहेकी छिन्। त्यही संघर्षले फरक परिचय दिएको छ ‘मकैवाली’ को। जसले कुनैबेला पाँच वर्ष कमलरीको रुपमा काम गरेकी थिइन्।

 १३ वर्षको सानो उमेर मै मागि विवाह भयो। श्रीमान पनि सानै थिए। घरमा बृद्ध सासुससुरा। उनीहरुको पालनपोषणको जिम्मा थारू दम्पतिको नै थियो। गिताले घरको ऋण तिर्न साहूको घरमा कमलरी बस्नुपर्‍यो। उनी भन्छिन्, ‘विवाहपछि ऋण तिर्न कमलरी बसेँ। साहूको घरमा गाईभैसीको मल सोहोर्ने काम गर्थेँ। बिहानदेखि साँझसम्म काम गर्नुपर्‍थ्यो। सानै थिएँ, साह्रै दुःख हुन्थ्यो।’

ऋण चुक्ता हुन धेरै समय लाग्यो। पछि अर्को घरमासमेत कमलरी बसिन्। आफूले पाँच वर्ष कमलरीका रूपमा काम गरेको उनको भनाइ छ। सरकारले कमलरी मुक्तिको घोषणा गरेपछि उनी पनि मुक्त भइन्। सरकारले कमलरी मुक्तिको परिचय दियो। एक लाख रुपैयाँ समेत पाइन्। उनले त्यहीँ रुपैयाँले कोहलपुर–सुर्खेत खण्ड अन्तर्गत सडक छेउमै रहेको एैलानी जग्गामा घर बनाएको बताइन्। त्यसपछि सरकारबाट कमलरीलाई प्राप्त हुने केही पनि सहयोग उनले पाएकी छैनन्।

 कमलरीबाटबाट मुक्त भएपछि घर खर्च चलाउन समस्या भयो। सम्पतिको नाममा एैलानी जग्गामा बस्ने घरबाहेक अरु केही पनि थिएन। केही समय दुवै जनाले मजदुरी गरे। त्यसबीचमा पहिलो सन्तानको जन्म भयो। जेठा छोरा विजय २० वर्षका भए। उनले पनि सडक छेउँमा मकै पोल्ने व्यापार गर्न लागेको पनि १५ वर्ष काटिसक्यो। संघर्षका दिन सम्झिदै उनी भन्छिन्, ‘कमलरी बस्दा कामको दुःख हुन्थ्यो। पछि त झन खान लाउनको साह्रै कष्ट भोग्नु पर्‍यो। केही पार नलागेपछि सडक छेउमा मकै पोलेर बेच्न थाले।’

एकातिर सुत्केरी अर्कातिर तराईको गर्मी। बिहानदेखि साँझसम्म कामको चाप परेपछि बिरामी परिन्। अत्याधिक गर्मी र आगोको रापका कारण आफू बिरामी परेको उनले बताइन्। श्रीमानले ऋण जोहो गरेर उपचार गराए।

छोरा विजय हुर्कँदै थिए। गिता बिरामी परेपछि ऋण थपियो। ऋण तिर्न फेरि पनि गिता मकै पोलेर बेच्ने काम गर्न थालिन्।

उनले विवाह गरेदेखि नै भोग्दै आएको समस्या श्रीमानको असहयोग हो। पहिलेदेखि अहिलेसम्म कहिल्यै पनि साथ पाइनन्। ‘श्रीमान कार्पेन्टरको काम गर्छन्। जति कमाउँछन्। रक्सी र ताँसमा फाल्छन्। उहिलेदेखि नै शंकाले मात्रै हेर्छन्,’ उनले भनिन्। 

न काममा सहयोग गर्ने। न गरेकोमा काममा सहयोग गर्ने। छोराहरु ठूला भइसके। उनीहरूलाई राम्ररी पढाउनु पर्‍यो। त्यसो गर्नु हुँदैनभन्दा झगडा गर्छन्। उनका अनुसार रक्सीकै कारण बिरामी परिरहन्छन्। गत वैशाखमा एक्कासी बिरामी परेपछि एक महिना अस्पताल राख्नुपर्‍यो। लकडाउनका कारण व्यवसाय चलेको थिएन।  छिमेकीसँग सापटी मागेर उपचार गरे। निरन्तर औषधि खानुपर्छ। औषधि पनि नियमित नखाइदिने।

अझै कतिसम्म मकै पोलेर चलाएर जीवन गुजारा गर्नुपर्ने हो। १५ वर्ष सडकका छेउमा मकै पोलिन्। खर्च पनि यसैबाट चलिरहेको थियो। कोरोनाले ६ महिना काम रोकियो। यही बीचमा ठेला खरिद् गरिन उनले। अहिले त्यही ठेलामा मकै बेच्दै आएकी छिन्। उनी भन्छिन्, ‘बिहानै चार बजे उठ्छु। मकै लिन गाडिमा दाङसम्म पुग्छु। दिउँसो खाना खान्छु। अनि बजार निस्कन्छु। साँझ अध्यारो नहुँदा ना खान्छु सम्म घर फर्किन्छ ।’ उनी दैनिक १५ घण्टा बढि श्रम गर्छिन् । जुन उनको दैनिक समय तालिका जस्तै हो।  

फुटपाथमा ‘जुत्ता सिलाउने’ प्रेमा (भिडियाे)

 

प्रकाशित मिति: : 2020-09-06 17:49:00

प्रतिकृया दिनुहोस्