जन्मभूमिमा अडिन नसकेका पाइलाहरु

परिवार पाल्न नसकेपछि, धमाधम फर्किदैछन् भारततिर। गौरीफन्टा नाकामा भीडभाड बढिरहेको छ। परेलीभित्रै आँसुका थोपा लुकाएर भन्न विवश छन्, ‘मरे उतै मरौंला। भारतमा स्याउ टिप्नेदेखि दरवानी गर्नेसम्म सबै तिर नेपाली नै भेटिन्छन्। नेपालमा ठेकापट्टादेखि ठुल्ठूला घर पुल आदि बनाउने भारतीयहरू छन्। तुलनात्मक हिसावले उतै गइरहेछ बढी पैसा। भएका उद्योग र कलकारखाना समेत बन्द गराउने यो देशका शासकहरु केवल शासक मात्रै न हुन्। जनताका छोराछोरीको यिनलाई के पर्वाह छ र।


चलु रे जनमभूमि जाउँ रूकुविना चलु रे जनमभूमि जाउँ

ए मडुवैकी रोटी, बेथुवैको साग

रचीरची भोजन खाउँ, रुकुविना चलु रे जनमभूमि जाउँ

सुदूरपश्चिममा खेलिने धमारी गीतका पंक्ति हुन् शिरानीमा राखिएका। गीतको एक प्राचीन प्रकार हो– धमार अर्थात् धमारी। जसलाई धमार तालमा गाइन्छ। धमार तालमा गाइने भएकै कारण यसलाई धमार अर्थात् धमारी भनिएको हुनुपर्छ। यसका प्रत्येक अङ्गमा गम्भीरता हुन्छ। पैतलीको ताल मिलाउँदै गाइने नृत्य सहितको यो गीतमा ढोलक मुजुरा झ्याली जस्ता बाजाको समेत प्रयोग गरिन्छ।

देउसरालाई खुबै मनपर्ने धमारी थियो यो। पुरूषहरुले पैतलीको चालमा नाच्दै गाएको हेर्दाहेर्दै कण्ठ पारिसकेकी थिइन उनले पुरै धमारी। भेटमा सम्झाएकी हुन् उनले विगतमा धमारी खेल खेल्दाका ती दिनहरु।  र त भनिन्, ‘तसा रहडी मान्स केलाई गाउँ छाडीबट हिट्या। गोसाई, आब जन जाए तमी तै सम्राटै माउका सहर।’

एकछिनलाई मात्र भए पनि मनको औंसी हराउँछ। जिन्दगीको जूनेलीका घर्साहरु आइदिन्छन् कल्पनामा। विगतका यादहरुले राज्य चलाउन थाल्छन् सम्झनामा। सोच्न थाल्छु  गाउँले जीवन। यो सम्राटहरुले भरिएको देश। अनि देउसरा जस्ता कैयौं गरिब र सिमान्तकृत मनलाई आश्वासनका फूल बाँडेर गजधम्म परेका स्थानीय तहदेखि केन्द्रसम्मका सम्राटहरुको ऐय्यासी।

देउसरालाई सुनाउन अनुरोध गर्छु धमारीका सबै पंक्तिहरू। मनमनै केलाउँछु भावपक्ष। गोकुल र मथुरालाई केन्द्रविन्दु बनाएर रचना गरिएको यो धमारीको कथावस्तु एउटा मिथ मात्र हो। जो कथालाई गाउँघरको स्वच्छ सुन्दर जिन्दगीसँग तुलना गर्न मिल्छ। हाम्रा कयौं मिथहरु छन्। कयौं संस्कृतिका पाटाहरु छन् जो आत्मीय बनिदिन्छन् सम्झनाको कलेवरभित्र। जसले बोकिरहेका हुन्छन् जिन्दगीका सुन्दर अनि मनमोहक लयहरू। तिनै लयहरुले बोक्न सिकाउँछन् आफ्नोपन।

भावनाका छालहरू छल्काइरहेका कैयौं देउसराहरू हिजो उदार दिलले स्वागत गर्न पर्खिरहेका थिए गाउँमा प्रवेश गर्ने पाइलालाई। आज डाँडाबाट हात हल्लाउन बाध्य भैरहेका छन्। विस्तार बिस्तारै पुनः उजाड बनिरहेका छन् गाउँ। गाउँ वरपरको जमिनको छातिमा अन्धाधुन्द कोरिएका छन् बक्ररेखा। स्थानीय तहका गोसाईहरुको कमिसन खाने गजबका योजना बनेका छन् गाउँका सडकहरू। जो आषाढ नलाग्दै पहिरो निम्त्याउन विवश छन्। तिनै बाटामा लामबद्ध देखिन थालिसकेका छन् भारत फर्किनेका पाइला।

धमारीका सम्पूर्ण पंक्ति मनन् गर्दै गर्दा उब्जिदिन्छन् मनमा भावका छालहरू। जहाँ भनिएको छः जो फल, जो जल, जो नर, जो पशु, जो दही दूध, जुन चराचुरुङ्गी मथुरामा भेटिन्छन् ती गोकुलमा कहाँ भेटिनु। छैनन् गोकुलमा मन ठेगानमा राख्ने त्यस्ता केही चिजबस्तु। रूकुबिना हिँड आफ्नै जन्मभूमि जाउँ अर्थात् उतै फर्किउँ। हे प्रिय! यहाँको दूध र हाम्रो जन्मभूमिको पानी उस्तै छ अरू धेरै कुरा के गर्नु, हिँड उतै फर्किउँ। यस्ता कतिपय भावका घडाहरु छन् गीतभित्र। जो गाउँघरतिर भेटिन्थे। आज गाउँघरमा पानीका मुहान सुक्दैछन्। काम गर्ने उद्यमी हातहरु विदेशीएका छन्। अरू बेला काटाकाट मारामार गर्ने बिभिन्न पार्टीका बिचौलियाहरु गाउँमा आएका योजना निर्माणार्थ उपभोक्ता समिति गठन गर्दै काम गरेजस्तो गरेर मिलिजुली रकम  कुम्ल्याउँछन्। यसरी कुम्ल्याइएको रकमको केही हिस्सा प्रसाद स्वरूप पुगिरहेकै हुन्छ माथिल्लो तहसम्म।

केही महिना अघि मात्रै सुनिन्थे गाउँघरतिर कैयौं महिलाहरुले आफ्ना श्रीमान् छोरा नातीलाई फोनमा जसरी भए पनि घर आउनू, मर्नु नै परे पनि सँगै मरौंला भनेका समाचारहरू। धमाधम फर्किए पनि कयौं नेपाली विदेशबाट। आफ्नै देशको, गाउँ समाजको माया ममताले धकेल्यो उनीहरुका पाइलालाई। परदेशमा होस् या घरदेशमा जबजब संकटका दिन आउँछन् तब रातदिन सम्झनामा आइरहन्छ जन्मभूमि। गाउँको महत्त्व त्यति बेला थाहा हुन्छ जति बेला मान्छे गाउँ छोडेर शहरीया जिन्दगी बिताउन थाल्छ। अनि देशको माया त्यतिबेला झाङ्गिन्छ मनमा जतिबेला घरदेशी परदेशी बनिदिन्छ। जिन्दगीको अन्तिम अवस्थामा समेत आफ्नै जन्मथलो, आफ्नै परिवेश अनि आफ्नै चिहानको महत्त्व सम्झिन्छ मान्छे। जतिबेला देशको सीमाना मिचिन्छ, कति रूवाउँछ ममताको त्यान्द्रोले। अभाव जिन्दगीको कुन स्तम्भ बनिदिन्छ त्यो कुराको अनुभव र अनुभूतिका कर्पच बोकेका गरिब, सिमान्तकृत र दूरदराजका मान्छेको आवाज कहाँ सुन्छन् र यो देशका सम्राटहरू।  यहाँ देश सम्राटहरुको बनिदिन्छ तर देशको माया गरिवहरुले सम्हालेर राखेका हुन्छन्। आफ्नो स्वार्थका लागि सीमाको भूभाग बेच्ने नेता भनाउँदा एकातिर छन्। सीमा मिचिएको सहन नसकी आन्दोलनमा उत्रेर शाहदत प्राप्त गरेका गोविन्द गौतमहरुका नाम अर्कोतिर छन्। देश माथि पराइले नराम्रो नजर लगाउँदा समेत बिरोधको बुलन्ध आवाज निस्किन्छ गरिबी झुपडीबाटै।

राणाकालदेखि अहिलेसम्मका सम्राटहरु रमाए आफ्नै स्वार्थमा। गाउँगाउँमा सिंहदरबारको नारा लगाउनेहरू आफैं श्रीपेच पहिरिरहेका छन्। सरकारका तर्फबाट कृषि, उद्योगधन्दा सम्बन्धि कुनै ठोस कदम चालिन्थे, रोजगारीका उपायहरु अवलम्बन गरिन्थे भने आज विदेशिनु पर्ने थिएन नेपालीले। गाउँको मायाले, घरको जिम्मेवारी सम्झेर फर्किएका केही सुदूरपश्चिमेलीहरुले घरको बत्ती हेर्दाहेर्दै क्वारेन्टाइनमै जिन्दगीको दम तोडे। क्वारेन्टाइनमा बसेकाहरु पनि गोठमा भेडाबाख्रा हुलेझै हुलिए। स्थानीय तह, प्रदेशदेखि नेपालसम्मका गोसाईहरुले खै के नै वास्ता गरेर तिनलाई। बरू कोरोना आएकोमा हर्षित भइरहेकै होलान् गोसाईहरु। बिभिन्न शीर्षकमा पचाइरहेकै होलान् बजेट। यसै प्रसंगमा सम्झइन् देउसराले गाउँघरतिर सुनिने एउटा उखान, ‘यसै मर्‍यो उसै मर्‍यो बल्ल (गोरू) पड्यालको।’ 

जसले एउटा गोरू मात्रै पालेको छ त्यस्ताले खेतीपातीको मौसम सुरू हुनु अगावै मौखिक सम्झौता गर्ने गर्छन्, दुबै परिवारको खेती आलापालो लगाउने भनेर। यसरी दुई परिवारका गोरूबाट साझेदारीमा जोत्ने समझदारी र कार्य दुबैलाई पड्याल भनिन्छ। एकातिर दुई परिवारको खेती लगाउनुपर्ने हुँदा सास्ती हुन्छ गोरूलाई। अर्कोतिर जोत्नेबेला आफ्नो गोरूतर्फ भार कम परोस् भनेर हलो बाँध्ने बेला दुबै परिवारले आफूले जोत्ने दिन चलाखि अपनाएर भार जति अर्को गोरूतिर पर्ने पद्धति अपनाउँछन्। यसरी एकातिर जोत्दाखेरी अपनाइने भारको पद्धति अर्कोतिर दुई परिवारको जमिन जोत्दाको दुःखलाई मनन् गरेर भनियो यस्तै मर्‍यो उस्तै मर्‍यो गोरू पड्यालको अर्थात् साझेदारीको।

यही उखान लागू भैदियो सुदूरपश्चिममा कोरोनाको सन्दर्भमा। एकातिर जागिर छुटेर खानलाई नै गाह्रो हुन थालेपछि घर फर्किनुको बिकल्प थिएन भारतमा काम गर्ने नेपालीलाई। चर्को भाडा तिरेर आठ दश जना मिली गाडी रिजर्भ गरेर नाकामा पुग्यो त्यहाँ हजारौंको भीडमा मिसिनु पर्दा शंकै शंकामा पाइला चाल्नुपर्ने विवशता। क्वारेन्टाइनमा भेडाबाख्रा हुलेझैं हुलिनु पर्दाको पीडा। १४ दिन क्वारेन्टाइनमा बसेर घरतिर हिँडेकाहरुले भनेका थिए, ‘मरिहालियो भने पनि अब कम्तिमा घरपरिवारका सदस्यले अनुहार त देख्न पाउने भए।’

उता देउसराहरुले पनि सम्झिए धमारीका तिनै पंक्तिहरूः

कोदाको रोटी बेथेको साग खाउला, उतै रमाउँला रकुबिना हिँड जन्मभूमि जाउँ।

आज करोडौंको बजेट सिध्याएर कीरा परेका चामल चाख्न विवश बनाइएको त्यही आँगन भएर पुनः उतै फर्किरहेका छन् अभागी पाइलाहरू। नेता भनाउँदा दलाल र तिनका भरौटेहरुले राज गरिरहेको भूमिमा संकटको बेला पनि अटाउन सकेनन् श्रमिकका इमान्दार र स्वाभिमानी पाइला।

परिवार पाल्न नसकेपछि, धमाधम फर्किदैछन् भारततिर। गौरीफन्टा नाकामा भीडभाड बढिरहेको छ। परेलीभित्रै आँसुका थोपा लुकाएर भन्न विवश छन्, ‘मरे उतै मरौंला। भारतमा स्याउ टिप्नेदेखि दरवानी गर्नेसम्म सबै तिर नेपाली नै भेटिन्छन्। नेपालमा ठेकापट्टादेखि ठुल्ठूला घर पुल आदि बनाउने भारतीयहरू छन्। तुलनात्मक हिसावले उतै गइरहेछ बढी पैसा। भएका उद्योग र कलकारखाना समेत बन्द गराउने यो देशका शासकहरु केवल शासक मात्रै न हुन्। जनताका छोराछोरीको यिनलाई के पर्वाह छ र।

यिनले त झ्याल ढोका बन्द गरेर रित्याउँदै छन् देशको ढुकुटी। अनियमित ढंगले कुम्ल्याउँदै छन् जनताले तिरेको तिरो। जनता मरे के भो र यिनलाई। यिनले त यस्तै दिन आइदिए अर्बौ रूपयाँ कुम्ल्याउन सकिने ठानेर भित्रभित्रै भगवान् पुकार्दै भनिरहेका होलान्,‘भगवान् जबजब हामी सत्तामा पुग्छौं तबतब यस्तै भइदेओस्।’ अनि पर्दा पछाडिबाट सहमति जनाइरहेकै होलान् प्रतिपक्षका ठेकेदारहरु पनि।

प्रकाशित मिति: : 2020-09-07 10:35:03

प्रतिकृया दिनुहोस्