एसिड आक्रमणकारीमाथि अध्यादेशमार्फत सरकारले नयाँ कानुन ल्याउने, अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) प्रहार गर्नेमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने बताएका छन्।

देशभरि एसिड आक्रमणका घटनामा परेकामध्ये १२ जना पीडित सहभागी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई  छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका हुन्।

पीडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशनसमेत दिएका छन्।

कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र  नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका छन्।

आक्रमण पछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने भन्दै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्धसमेत सरकारले मिलाउने  जानकारी गराए।

यस्तै प्रधानमन्त्रीले एसिड पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिनेसमेत बताए।

हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्नसमेत उनले सबैमा आह्वान गरे।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति  सिर्जना गर्न सरकार लागि पर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीलाई हौसला दिए।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।

प्रकाशित मिति: : 2020-09-10 14:17:08

प्रतिकृया दिनुहोस्