साथीको जुत्ता सापट लिएर फुटबल खेल्ने किरण, यसरी बने ‘नम्बर वान’ गोलकिपर

नेपाली फुटबल प्रेमीहरुका लागि निकै प्रिय नाम हो किरण चेम्जोङ। धनकुटाको राजारानीमा जन्मेका उनी बाल्यकालमा आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो चेम्जोङलाई।

साथीभाइको जुत्ता सापट लिएर फुटबल खेल्ने किरण खेलाडीको जीवन देखेर लोभिने ‘फ्यानब्वाइ’ थिए। यतिकै खेल्दा खेल्दा उनलाई देशको लागि खेल्ने प्रस्ताव आयो। यसका लागि उनी तयार भए।

‘यसरी नै मैले गोलकिपरको यात्रा सुरु गरेको थिएँ,’ चेम्जोङले द एन्फा डट कमलाई भनेका छन्।

पहाडी जिल्ला भए पनि चेम्जोङको गाँउ राजारानीमा फुटबलको असाध्यै क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। हाल नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर रहेका अग्ला कदका किरणलाई पनि फुटबल मन पर्थ्यो।

आफू ३ महिनाको छँदा बुबाले अर्कै घर बसाएपछि आमालाई कहिल्यै एक्लो महसुस हुन दिएका छैनन् किरणले।  ‘बुबाले छोडेपछि आमाले चिया बेचेर हामीलाई पढाउनुभयो,’ किरण भन्छन्, ‘मेरो फुटबल खेल्ने सपनामा पनि सधैं साथ दिनुभयो।’

छोरालाई फुटबल खेल्ने जुत्ताकिन्ने सामथ्र्य नभएकी किरणकी आमा साधै पढाइ बिग्रिन्छ कि भन्ने डरमा हुन्थिन्। 

‘मैले फुटबलमा लागेर पढाइमा बिगार्छु भनेर मेरी आमा चिन्ता गर्नु हुन्थ्यो। तर पनि उहाँले खेल्न भने सहयोग गर्नुहुन्थ्यो। गाँउ बाहिर फुटबल खेल्न जादा आमाले पैसा दिनुहुन्थ्यो,’ किरणले भनेका छन्।

स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि चेम्जोङ जिल्लास्तरमा पनि छाउन थाले। काठमाडौं आउने वेला ऋण लिएर किरणलाई सपना पूरा गर्न पठाएकी थिइन्।  झोला सँगसँगै जिम्मेवारी र ऋणको बोझबोकेर १३ वर्षीय किरण हानिएका थिए काठमाडौं। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।

‘संयोगवस त्यतिबेलै काठमाडौंमा यु–१६ को राष्ट्रिय छनोट रहेछ,’ उनी सम्झिन्छन्।

उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्‍यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए।

‘एन्फामा गएपछि मलाई छनोट मिति दिइयो। धनकुटा फर्किएर फेरि काठमाडौं आए। छनोटमा सफल भए र एन्फा एकेडेमीमा भर्ना पाए,’ उनले भने।

विस्तारै किरणको नाम चुलिँदै गयो र घरबाट बोकेर आएको बोझ क्रमशः हल्का लाग्न थाल्यो। 

एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए। सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए।

त्यसयता उनले राष्ट्रिय टिममा लगातार प्रभाव पार्दै आएका छन्।

६ फिट २ इन्च अग्ला किरणलाई स्ट्राइकर छाडेर गोलकिपर हुने निर्णयले सुरुसुरुमा भने पिरोल्थो।

‘कहिलेकाहीँ गल्ती गर्दा मानिसहरू गोलकिपरलाई गाली गर्थे।गोलकिपरको गल्तीमा प्रायः टिप्पणी भइहाल्ने। त्यसैले मैले सिनियरको कुरा नसुनी स्ट्राइकर अथवा अरु पोजिसनमा खेल्नु पर्छ जस्तो लाग्थ्यो। समय बित्दै जाँदा त्यस्तो सोच हट्दै गयो,’ उनी भन्छन्।

उनी खेलको अवधिमा गरेका गल्तीका लागि मात्र गोलकिपरको नाम आउने हुँदा दुखि हुन्छन्।

‘एउटा स्ट्राइकरले धेरै अवसर खेर फाल्छ र एउटा गोल गर्छ। सो गोलका लागि उसलाई सम्झिन्छ। गोलले खेल जित्ने भएको कारणले होला स्ट्राइकालाई सबैले सम्झिने। तर गोलकिपरको सवालमा यस्तो हुँदैन। खेलको अवधिमा गरेका गल्तीका लागि मात्र गोलकिपरको नाम आउँछ,’ चेम्जोङले भने।

मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका चेम्जोङले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।

चेम्जोङले माल्दिभ्स र भारतबाट पनि व्यावसायीक फुटबल खेलेँ।

‘सन् २०१६ मा राष्ट्रिय टिमबाट सोलिडारिटी कप खेल्दा माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबका गोलकिपिङ प्रशिक्षकले मेरो खेलेर हेरेर मलाई सन्देश पठाए। क्लब मलाई भित्र्याउन इच्छुक थियो,’ चेम्जोङ भन्छन्।

सन् २०१८ माउनलाई माल्दिभ्स कै उत्कृष्ट गोल किपरका रुपमा सम्मानित समेत गरिएको थियो। यसर्थमा अन्तर्राष्ट्रिय स्तरमाआफ्नो नाम फैलाउन सफल केही नेपाली खेलाडीको सूचीमा पर्छन् किरण पनि।

नेपालले प्रतियोगिताको उपाधि जितेपछि चेम्जोङले पनि टिसी स्पोर्ट्सले सम्झौता गरे। उनले भारतको आइ लिग टिम मिर्नेभा पञ्जाव एफसीबाट पनि शीर्ष श्रेणीको लिग खेले। क्लबले सन् २०१७/१८ मा उपाधि जित्दा चेम्जोङ पनि टिममा थिए।

चेम्जोङ आफूलाई राम्रो सल्लाह र सुझाव दिने सिनियर र प्रशिक्षक पाएकोमा भाग्यमानी ठान्छन्। जसका कारणले आफू एन्फा एकेडेमीमा सफल भएको उनको भनाइ छ।

‘म एन्फा, सिनियर र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले जे सिकाउनु भयो त्यसका लागि धन्य छु। अब हामीले अर्को स्तरमा जानु पर्छ। त्यसका लागि कर्पोरेट क्षेत्र र सरकारले पनि सहयोग गर्नु पर्छ,’ उनी भन्छन्।

नेपाल र भारतको फुटबलको स्तरमा धेरै फरक नभए पनि व्यवस्थापन र अन्य क्षेत्रको संग्लनतामा भारत अघि रहेको उनको भनाइ छ। व्यवस्थापन र कर्पोरेट क्षेत्रका कारण भारतीय फुटबलको स्तर बढाउन सहयोग पुगेको र उनीहरूले फाइदा लिन सकेको चेम्जोङ बताउँछन्।

चेम्जोङ आफ्नो खेल सुधार गर्दै देश र क्लबका लागि निरन्तर खेलिरहन चाहन्छन्।

‘भविष्यमा के हुन्छ सोचेको छैन तर फुटबल बिना पनि केही हुन्छ भन्ने लाग्दैन,’ चेम्जोङले भने। कुनै खेलमा सफल हुनु छ भने लगाव र सबथोक त्याग्न सक्नु पर्ने उनले बताए।

‘राजारानीदेखि राष्ट्रिय फुटबल टिमसम्मको मेरो यात्रा सुन्दा सहज होला। तर त्यहाँ धेरै कडा परिश्रम र लगाव लुकेको छ,’ उनले भने।

कुनै देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा भएको बताउँने चेम्जोङ देशका लागि खेल्ने खेलाडी बन्न ठूलो प्रयास र अनुशासन हुनुपर्ने ठान्छन्।

‘यो स्तरमा पुग्न चाहानुहुन्छ भने कडा परिश्रम गर्नुपर्छ, अनुशासित हुनुपर्छ अनि धेरै समय खेलको इज्जत गर्नुपर्छ,’ चेम्जोङले भने।

प्रकाशित मिति: : 2020-09-14 08:07:00

प्रतिकृया दिनुहोस्