ब्राइटनको घरेलु मैदानमा चेल्सीकाे शानदार जित

लण्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ।

मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को  सहज जित निकालेको हो।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे। घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए।

 चेल्सीले २३ औँ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। 

ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। जसमा कप्तानी जोर्गिन्हो चुकेनन्।

५४ औँ मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो। ब्राइटनका लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए।

ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुनः अग्रता बनायो। जोर्गिन्होले उपलब्ध गराएको पासलाई जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। 

जेम्सकै पासमा चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल गरेका थिए।

जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-09-15 05:58:00

प्रतिकृया दिनुहोस्