नेयमारलाई ७ खेलमा प्रतिबन्ध लाग्न सक्ने

प्रोफेसनल फुटबल लिग फ्रान्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच भएकाे खेलकाे बिषयमा छानविन गर्ने भएकाे छ। 

आइतबार भएकाे खेलमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए। राताे कार्ड पाउनेमा पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेलीका जोर्डन एमाभी र डारियो बेनेडेट्टो रहेका छन्। 

 प्रोफेसनल फुटबल लिगले याे घटनाबारे छानविन शुरु गरिसकेकाे जनाएकाे छ, जसकाे रिपाेर्ट बुधबार आउने छ।

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए।

खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी ९७ औँ मिनेटमा हात हालाहाल मै उत्रिएका थिए। 

 त्यसअघि  रेफ्री जेरोम ब्रिसार्डले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए। रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो।  

रेफ्रीले भिएआरबाट नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई पञ्च हानेकाे देखिएपछि सीधै रातो कार्ड दिएका थिए।

नेयमारले मैदान छोड्ने क्रममा फोर्थ अफिसियललाई आफूमाथि रंगभेदी टिप्पणी भएको बताएका थिए। 

खेलपछि नेयमारले ट्वीट गरेर अल्भारो गोन्जालेजको मुखैमा पञ्च नहिर्काएकोमा पछुतो रहेको उल्लेख गरेका छन्। 

नेयमार र अल्भारो भन्दा अघि मार्सेइलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए।

लिगको अनुशासन समितिले खेलमा रेफ्रीले नदेखेको घटनामा पनि छानविन गर्ने बताएको छ। मार्सेका प्रशिक्षक आन्द्रे भीलास बोसका अनुसार मार्सेका खेलाडीलाई पीएसजीका एक खेलाडीले थुकेका समेत थिए। त्यस्तै नेयमारले रंगभेद टिप्पणीको आरोप लगाएका अल्भारोले आफुले त्यसो नगरेको ट्वीटरमा बताएका छन्। समितिले त्यसमा पनि अध्ययन गर्ने छ।

यता मार्सेइलीका प्रशिक्षकले रंगभेदी टिप्पणीका कारण घटना भएको जस्तो नलाग्ने तर त्यस्तो खालको टिप्पणीका लागि कुनै स्थान नरहेको बताए। उनले त्यसबारे अनुसन्धान गरिने बताए।

लिगको नियमअनुसार रंगभेद टिप्पणी गर्ने खेलाडीलाई १० खेलसम्म प्रतिबन्ध हुनेछ। विपक्षीलाई थुकेको खण्डमा ६ खेलसम्म प्रतिबन्ध हुने प्रावधान छ। यस्तै विपक्षी खेलाडीलाई हात हाल्नेलाई ७ खेल प्रतिबन्ध लगाउने नियम रहेको छ।

प्रकाशित मिति: : 2020-09-15 06:18:23

प्रतिकृया दिनुहोस्