सेमेडो वल्भ्समा अनुबन्धित, बार्सिलोनाले सर्जिनो डेस्ट ल्याउने

इंग्लिस प्रिमियर लिगको वल्भ्सले क्याटलान क्लब बार्सिलोनाबाट डिफेन्डर नेल्सन सेमेडोलाई अनुबन्ध गरेको छ।

क्लबले पोर्चुगिज खेलाडी सेमेडोलाई अनुबन्ध गर्न ३७ मिलियन पाउण्ड खर्च गरेको हो। 

म्याट डोहर्टी टोटनह्याम गएपछि वल्भ्सका म्यानेजर नुनो एस्प्रितो उनको विकल्पको खोजीमा थिए। 

सिजनको सुरुवातमा वल्भ्सका डिफेन्डर म्याट डोहर्टि १२ मिलियन पाउण्डमा टोटेनह्याम गएपछि वल्भ्सले सेमेडो अनुबन्ध गरेको हो। वल्भ्सको टोलीमा सेमेडो दशौं पोर्चुगिज खेलाडी हुन्। प्रशिक्षक नुनो एस्पिरितो सान्तो पनि पोर्चुगलका नै हुन्।

सेमेडोले वल्भ्समा २०२३ सम्मका लागि अनुबन्ध गरेका छन्। बार्सिलोनाले सेमेडोको सम्झौताको रकम ३० मिलियन युरो रहेको र १० मिलियन पछि थप हुने जनाएको छ। 

२६ वर्षीय सेमेडोले बार्सिलोनाका लागि १ सय २४ खेल खेलेका थिए। उनले २ गोल पनि गरेका थिए। 

उनले पोर्चुगलको राष्ट्रिय टोलीका लागि पनि १३ खेल खेलिसकेका छन्। 

बार्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको आगमनसँगै सेमेडो उनको योजनामा रहेका थिएनन्। बार्सिलोनाले आयाक्सका सर्जिनो डेस्टलाई उक्त पोजिसनमा अनुबन्ध गर्ने तयारी गरिरहेको छ।

वभ्स्ले स्थायी रुपमा अनुबन्ध गरेको सेमेडो तेस्रो खेलाडी हुन्। वल्भ्सले यसअघि पोर्टोबाट फाबियो शिल्भा र लिभरपुलबाट कि जान होएभरलाई अनुबन्ध गरिसकेको छ। 

वल्भ्सले यसै साता लिभरपुलका डिफेन्डर कि-जाना होएभरलाई पनि अनुबन्ध गरेको छ। फरवार्ड डिओगो जोटा भने वल्भ्सबाट लिभरपुल गएका थिए।

गत सिजन वल्भ्सले राम्रो प्रदर्शन गरेको र इंग्ल्याण्डको एउटा महत्वपूर्ण टिम रहेकोले वल्भ्स रोजेको सेमेडोले बताएका छन्। उनले यस सिजन पनि राम्रो हुने अपेक्षा राखेका छन्।

‘गत सिजन वल्भ्सका लागि निकै राम्रो सिजन रह्यो। इंग्ल्यान्ड मात्र नभएर युरोपमा पनि राम्रो प्रदर्शन थियो। यो सिजन अझ राम्रो गर्ने प्रयास रहनेछ,’ उनले भने। 

उनले प्रशिक्षक नुनोकाे पनि तारिफ गरेका छन्। 

‘उनी एकदम राम्रो प्रशिक्षक हुन्। उनले वल्भ्स मात्र नभएर अन्य टोलीमा पनि प्रभाव छाडेका छन्। मैले उनीबाट धेरै सिक्नेछु,’ उनले भने। 

प्रकाशित मिति: : 2020-09-23 19:56:36

प्रतिकृया दिनुहोस्