परराष्ट्रमन्त्रीहरुको भर्चुअल बैठक : ब्युँतिएला ‘कोमा’मा पुगेको सार्क ?

अनलाइनखबर

काठमाडौँ

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण ‘कोमा’ मा पुगेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक बिहीबार सम्पन्न भएको छ । सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको सो बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए ।

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुबीच अनौपचारिक बैठक गर्ने परम्परा छ । यसपटक महासभाको बैठक नै भर्जुअल भएका कारण परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठक पनि भर्जुअल नै गरिएको हो । बैठकमा आठै देशका परराष्ट्र मन्त्रीहरुले सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकलाई सम्वोधन गदै मन्त्री ज्ञवालीले १९ औं सार्क सम्मेलन सकेसम्म छिटो गर्नका लागि सम्भावित सबै विकल्पहरु पहिल्याउनको सार्कका समकक्षीहरुलाई आग्रह गरेका थिए । ज्ञवालीले सार्कलाई नयाँ गति दिन आवश्यक रहेको बताए । उनले भने, ‘हामीले सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रिय संस्था बनाउन आवश्यक छ, जसले यस क्षेत्रमा जनताको जीवनमा स्पष्ट देखिने परिवर्तन ल्याउन सकोस् ।’

प्रकाशित मिति: : 2020-09-25 09:29:34

प्रतिकृया दिनुहोस्