नेपाल जस्तै अमेरिकामा पनि फोहोरी राजनीति

संजोग आचार्य

न्युयोर्क

हामी सबैलाई लाग्न सक्छ, नेपालमा मात्र फोहोरी राजनीति छ। कुनै देशमा अपवाद हुन सक्ला। तर, अमेरिकामा पनि नेपाल जस्तै फोहोरी राजनीति हुने गरेको छ। यसको पछिल्लो उदाहरण, बिहीबार मात्र देखिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत बिहीबार भर्खरै दिवंगत महिला न्यायाधीस रुथ बादेर गिन्सवर्गलाई श्रद्धाञ्जली दिन सर्वोच्च अदालत प्राङ्गण पुगेका थिए। उनीसँगै ‘प्रथम महिला’ उनको श्रीमती मेलानिया पनि थिइन्।
 
विशुद्ध श्रद्धाञ्जली दिन गएका अमेरिकी राष्ट्रपतिलाई यहाँ अपमानित गर्न खोजियो। उनी श्रद्धाञ्जली सभामा उपस्थित हुँदा केही व्यक्तिले अपमानजनक रूपमा होहल्ला गरे। राष्ट्रपतिविरूद्ध नाराबाजी नै भयो। 

स्थिति यहाँसम्म पुग्यो कि, केही व्यक्तिले नारा लगाए, ‘ट्रम्पलाई हराउन भोट दिउँ।’

न्यायाधीस रुथको निधन १८ सेप्टेम्बरमा भएको थियो। उनको निधनपछि ट्रम्प चुनाव अगाडि सर्वोच्च अदालतमा नयाँ महिला जजलाई नियुक्त गर्न चाहन्छन्। यो राष्ट्रपतिको संवैधानिक अधिकारभित्र पनि पर्छ।

 तर, विपक्षी डेमोक्र्याटिक पार्टी यसको विरोधमा छ। राष्ट्रपतिको उम्मेदवार जो वाइडेनले नै यसको विरोध गरेका छन्। 

वाइडेनको भनाई छ–चुनाव हुन निकै थोरै समय बाँकी छ। यसैले न्यायाधीसको नयाँ नियुक्ति अब आउने सरकारले गर्न पाउनु पर्छ। वाइडेनको भनाईमा कुनै तर्क देखिदैन। अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुँदैछ। 
बिहीबार न्यायाधीस रुथलाई श्रद्धाञ्जली दिन जाँदा राष्ट्रपति ट्रम्पको ‘गेट–अप’ पनि नयाँ देखिएको थियो। समान्यतया ट्रम्प सार्वजनिक स्थलमा मास्क लगाएको देखिदैनन्। उनी यसको विरोधमा पनि छन्। 

तर, चुनावको मिति नजिकिँदै जाँदा तथा कोरोनाविरूद्धको अभियानमा उनको प्रयास खासै प्रभावशाली नभएका कारण आलोचित बन्दै गइरहेका थिए। यस्तो अवस्थामा उनी श्रद्धाञ्जली सभामा मास्क लगाएर उपस्थित भए। उनीसँगै श्रद्धाञ्जली सभामा पुगेकी मेलानियाले पनि मास्क लगाएकी थिइन। प्रायः रातो रंगको टाई लगाउन मन पराउने ट्रम्प यतिबेला निलो टाईमा देखिएका थिए। 

ट्रम्प र मेलानिया श्रद्धाञ्जली सभामा शान्त बसेका थिए। यति नै बेला केही टाढा बसेका मानिसहरूले नाराबाजी गर्न थाले। अमेरिकाको सर्वोच्च अदालतमा ९ न्यायाधीस नियुक्त हुने प्रचलन छ। 

कुनै महत्वपूर्ण निर्णय गर्दा न्यायाधीस दुई भागमा विभाजित भएर ४–४ को स्थिति भयो भने सरकारबाट नियुक्त न्यायाधीसको भोट निर्णायक मानिन्छ। त्यसैले सरकारले नियुक्त गर्ने न्यायाधीस निकै महत्वपूर्ण मानिन्छ। 

यसै कारण पनि अहिले न्यायाधीस नियुक्तिलाई लिएर ठूलो राजनीति भइरहेको छ। श्रद्धाञ्जली सभामा राष्ट्रपतिविरूद्ध भएको नाराबाजीको व्हाइट हाउसले निन्दा गरेको छ। व्हाइट हाउसका सूचना सचिव केली म्याकेनीले भनेकी छिन्, ‘राष्ट्रपति न्यायाधीस रुथलाई श्रद्धाञ्जली दिन उपस्थित भएका थिए। यस्तो अवस्थामा राजनीति गर्नु निन्दनीय छ।’

उनले यो अमेरिकी संस्कृति नभएको भन्दै ट्रम्पले छिट्टै महिला न्यायाधीस नियुक्त गर्ने स्पष्ट पारेकी छिन्। ट्रम्पभन्दा अगाडि अमेरिकाका अन्य दुई राष्ट्रपतिले पनि यस्तो असहज परिस्थितिको सामना गर्नु परेको थियो। 

सन् १९९३ मा पूर्व राष्ट्रपति बिल क्लिन्टन भियतनाम युद्धमा शहिद भएका सैनिकहरूको श्रद्धाञ्जली सभामा उपस्थित भएका थिए, त्यहाँ उनीविरूद्ध नाराबाजी भएको थियो। यस्तै, रोनाल्ड रेगनले केनेडी सेन्टरमा आफ्नो मन्तब्य दिइरहँदा पनि विरोध भएको थियो। 

यद्यपि श्रद्धाञ्जली सभामा ट्रम्पको बेइज्जती गर्ने काम भयो। तर, अमेरिकी राष्ट्रपति गल्नेवाला कहाँ थिए। उनले भने, ‘मैले त्यहाँ त्यस्तो केही सुनिन्।’

प्रकाशित मिति: : 2020-09-26 19:24:00

प्रतिकृया दिनुहोस्