उत्कृष्ट पुनरागमन गरेपछि लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमविच आल्बीयनसँग बराबरी खेलेको छ।
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी शनिबार राति भएको खेलमा वेस्ट ब्रुमसँग ३–३ गोलको बराबरी खेलेको हो।
चेल्सी सुरुवाती २८ मिनेटमा नै ३–० ले पछि परेको थियो। खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ सुरुवाती अग्रता दिलाए।
२५औँ मिनेटमा रबिन्सनले नै घरेलु टोलीको अग्रता दोब्बर पारे।
२७ औँ मिनेटमा काइल बार्टलीको गोलमा वेस्ट ब्रोम ३–० ले अघि बढ्यो। पहिलो हाफको अन्त्यसम्म पनि अग्रता जोगाएको वेस्ट ब्रोमले दोस्रो हाफमा भने चेल्सीको दबाब थेग्न सकेन।
५५औँ मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। ७०औँ मिनेटमा क्यालम हड्सन ओडोइले गोल गरे।
हारतर्फ उन्मुख चेल्सीका लागि ट्यामी अब्राहमले अंक बचाए। उनले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
चेल्सी अंक तालिकामा ३ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा छ भने पहिलो अंक जोडेको वेस्ट ब्रोम १५औँ स्थानमा छ।