विवाद उत्पन्न भएपछि रद्द भयो यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान

विवाद उत्पन्न भएपछि यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले साेमबार विज्ञप्ति जारी गरे विवाद र अहसज परिस्थिति सिर्जना भएको भन्दै सम्मान रद्द गरिएको जनाएकाे हाे। 

‘यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जारी गरेको विज्ञप्तिमा भनिएकाे छ। 

लामिछानेले प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने प्रतिवद्धता जनाउँदै क्षमायाचना समेत गरेका छन्।

‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने कदापी थिएन। सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ,’ उनले भनेका छन्।

प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने प्रतिवद्धता पनि विज्ञप्तिमा उल्लेख छ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। 

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

असाेज ११ गते प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको थियाे।

त्यसैगरी यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक कोरोना संक्रमणको विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने जनाइएको थियाे।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको थियाे।

उपन्यासमा मानिस आफैँले बनाएको जालमा कसरी फसिरहेको छ र त्यसको बोझले थिचिरहेको छ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको छ।

यता प्रश्रितले विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान गरिएको बताइएको थियाे। 

उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन्।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रुपैयाँ थियाे। यद्यपी साहित्यकार  प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने घोषणा गरे।

प्रश्रितले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका थिए।

परिषदले पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार गर्दै उनले विज्ञप्तिमा पुरस्कारको घोषणाको समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्र्दभमा उल्लेख गर्दै पुरस्कार नलिने उल्लेख गरेका थिए।

प्रकाशित मिति: : 2020-09-29 07:11:45

प्रतिकृया दिनुहोस्