सम्झना कामी हत्या प्रकरण: बाबा रुँदै क्वारेन्टिनमा,  छोरीको शव सड्दै अस्पतालमा

‘मलाई त्यहाँ (भारतको) को लुगा मन पर्दैन। रूपैयाँ पठाइदिया। यतै किनौला। भाइलाई राम्मो गर्‍या। आमालाई कस्तो छ? अब यता आयापछि कहिल्यै उता जानु पर्दैन है बाबा। मलाई स्यान्डल पनि पठाइदिया।’

सम्झना कामीले ७ असोजमा बलात्कारपछि हत्या हुनुभन्दा ठिक दुई साताअघि भारतमा रहेका बाबा विकाससँग फोनमा अन्तिम पल्ट बोलेको कुरा हो यो। 

सम्झनाको इच्छा अनुसार विकासले गाउँकै शेर कामीसँग स्यान्डल र केही रुपैयाँ पठाइदिएका थिए। दसैंमा नयाँ लुगा र स्यान्डल लाउने सम्झनाको इच्छा अधुरै रह्यो। १२ वर्षीय सम्झनाको बलात्कारपछि हत्या हुने दिन विकासले पठाइदिएको नासो लिएर शेर घर पुग्दै थिए। उनले भारतबाट फर्केपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले सम्झनाको उक्त नासो दिन पाएनन्। १४ दिनपछि जब शेर घर पुगे सम्झनाले स्यान्डल लगाउन पाइनन्। सम्झनाको नासो बोकेर आएका शेर उनलाई नै खोज्न  गए। 
 
अहिले चैनपुरस्थित जिल्ला अस्पतालको एक कोठामा रुदैँ दिनरात काटिरहेका विकास भन्छन्,‘मेरी फूल जस्ती छोरीले मैले पठाइदिएको नयाँ लुगा लाउन पाइनँ। स्यान्डल पनि लाउन पाइनँ। मेरी छोरीका कति सपना थिए। अधुरै रहे।’ 

विकास छोरीको हत्या भएको खबर सुनेपछि तीनदिन अघि भारतबाट बझाङ पुगेका थिए। ९ असोजमा बैंङलोरदेखि हवाईजहाजमा लखनउ आए। भोलिपल्ट गाडीमा गौरीफन्टा हुँदै १० गते बझाङ पुगे। चैनपुर पुगेपछि उनलाई कोरोना पोजेटिभ देखियो। अहिले अस्पतालकाे आइसोलेसनमा रुदै दिन बिताइरहेका छन्। 

एउटै अस्पतालमा एकातिर छोरीको लाश न्याय कुरिरहेको छ। अर्को कोठामा छोरीको हत्यारालाई कारबाहीको लागि लड्नुपर्ने उनी कोरोनासँग लडिरहेका छन्। कोठाबाट बाहिर निस्कन दिइएको छैन। उनले कसैलाई पनि भेट्न पाएका छैनन्। कोरोना पुष्टि भएपछि आइसाेलेसनमा बसिरहेका उनले बिएल नेपाली सेवासँग टेलिफोनमा कुराकानी गर्दै भने, ‘अझै कति बन्दी बन्नुपर्ने हो? एक कोठामा छोरीको लाश छ। अर्को कोठामा म छु। मलाई बाहिर निस्कन पनि बन्देज लगाइएको छ। कोरोनाको कुनै लक्षण छैन,’ निकै बेर भक्कानिए उनी । 
 
हाल उनले न सम्झनाको लास देख्न पाएका छन्,  न त छोरीको न्यायका लागि आवाज उठाउन पाएका छन्। उनलाई आइसोलेसनमा राख्ने भनिएको छ। 
आर्थिक रुपमा विपन्न विकासको संयुक्त परिवार छ। विकासका पाँच छोरी र १ छोरा हुन्। श्रीमती बिजुली र विकासका कान्छो छोरा र दुई छोरीसँगै बैङलोरमा  मजदुरी गर्छन्। यता मष्टा गाउँपालिका – २ स्थित घरमा सम्झना र दुई बहिनी हजुरबाबा र हजुरआमासँग बस्दै आएका थिए। सम्झना  विकास र बिजुलीकी पहिलो सन्तान हुन्। 

छोरा पाउने आशामा पाँच छोरी भए, विकासका। गाउँमा बसेर परिवार पाल्न धौधौ भए पछि चार वर्ष अघिदेखि भारतमा बस्दै आएका थिए। अहिले पनि बिजुली र छोराछोरी उतै छन्। मष्टा आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी सम्झना जेठी छोरी भएकोले घरको भान्सादेखि मेलापात सबै गर्ने सबै काम गर्थिन्।  पढाईमा समेत अब्बल उनी निकै टाठी थिइन्। 

विकास भक्कानिदैँ  भन्छन्, ‘कति बाठी थिइ मेरी छोरी। पढाईमा पनि उत्तिकै मिहेनती। ठ्याक्कै फूल जस्ती। के अपराध गरेका थियौ? पापी अपराधीले मेरी फूल जस्ती छोरालाई मारिदियाे।’ 

सम्झना मृत भेटिएको स्थान ‘मन्दिर’ विकासको घरदेखि आधा घण्टाको बाटोमा पुगिन्छ। नजिकै उक्त गाउँका गाई, भैसी राखिन्छ। त्यहाँको उनको गोठ थियो। घना जंगल र सुनसान छ। उक्त दिन सम्झना दिउँसो चार बजेतिर गाईवस्तु व्यवस्थापनको लागि गोठमा गएकी थिइन्। 

सँधै सबेरै घर फर्किने सम्झना त्यसदिन अबेरसम्म पनि फर्किनन्। नातिनी अबेरसम्म पनि घर नफर्केपछि हजुरबाले गाउँले गुहारे। सम्झनाको खोजी गर्न थाले। ‘खोज्दै जाँदा गाउँलेले मेरी छोरीलाई मन्दिरमा क्षतविक्षत अवस्थामा मृत भेटाएछन्। शरीर भरी घाउँ रहेछ। कति रोई होलिन् मेरी छोरी। कति कराई होलिन्। त्यो पिपाशुले के सुन्थ्यो?’ उनले भने।

शरीरभरि चोटैचोट, अर्धनग्न, योनीमा चोट र रगत बगेको अवस्थामा उनको शव फेला पारेको थियो। उनको बलात्कारपछि निर्मम् हत्या भएको खुलिसकेको छ।

‘छोरीसँग केही दिन अघि मात्रै अहिले पक्राउ परेका राजेन्द्र बोहोराले सुनका मुन्द्रा मागेको बताएकी रहिछन्। हजुरबाबाले डर मान्नु पर्दैन। म सम्झाउँछु भन्नु भएछ। त्यसका बालाई पनि भन्नुभएको रै’छ बुवाले। त्यसले बाउले पनि उल्टो थर्काएछ।’ 

उनका अनुसार राजेन्द्रले यस अघि पनि गाउँकै अर्की केटीलाई बलात्कार गरेको थिए। एक जनाको हत्या पनि। सम्झना तेस्रो नम्बरमा परिन्। 

प्रहरीको अनुन्धानमा पनि राजेन्द्रले गाउँकै दमाई थरकी किशोरीलाई घट्टमा जाँदा बलात्कार गरेको र पछि मिलापत्र गरेको खुलिसकेको छ। 
 
उनको हत्यारालाई कारबाही र पीडितको न्यायको लागि अहिले देशभर प्रदर्शन भइरहेको छ। आफन्तले सम्झनाको लाश उठाउन मानिरहेका छैनन्। विकासले सम्झनाको हत्यारालाई कारबाही नभएसम्म लास नउठाउने बताए। 

उनले भने, ‘मेरो छोरीको हत्या गर्ने पापीलाई फाँसीको सजाय हुनुपर्छ। नत्र छोरीको लास उठाउँदिनँ। बरू उसकै घरमा लिएर जलाउँछु।’ 

विकासले छोरीको लाससम्म हेर्न पाएका छैनन्।  उनी छोरीलाई सम्झिएर घरी रून्छन्, घरी टोलाउँछन्। 

उनी परदेशमा हुँदा छोरीको हत्या भयो। अहिले सँगै हुँदा पनि लास हेर्न पाएका छैनन्। क्वारेन्टाइनमा बन्दी भएर बस्नुपर्दा निकै पीडा हुने गरेको उनी सुनाउँछन्। 

उनले क्वारेन्टिनमा रुदैँ दिन कटाइरहेका छन्। सम्झनाको लास अस्पतालमा सड्दै छ। 

प्रकाशित मिति: : 2020-09-30 11:34:14

प्रतिकृया दिनुहोस्