इजरायली श्रम बजार नेपाली श्रमिकका लागि खुला, पहिलो चरणमा ५ सय नेपाली श्रमिक लैजाने

नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।

बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गबी अश्केनाजीले हस्ताक्षर गरेका छन्। केयर गिभरको क्षेत्रमा पहिलो चरणमा ५ सय नेपाली श्रमिक इजरायलले लैजाने छ।

तर त्यसका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर हुने भने बाँकी छ। यो प्रोटोकलमा छिट्टै नेपालका लागि इजरायली राजदूत र नेपाली अधिकारीले काठमाडौंमा हस्ताक्षर गर्ने दूतावासले जनाएको छ ।

नेपाली श्रमिक लैजान समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। नेपाली श्रमिकले इजरायलको केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल ररेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा रोजगारीको अवसर पाउनेछन्। तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्न इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुल्ला हुनेछ ।

सबैभन्दा पहिला इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम्स्, डे केयर सेन्टर लगायतमा नेपाली श्रमिक लैजानका लागि छिट्टै नै इम्प्लिमेन्टेसन प्रोटोकलमा सम्झौता हुने दूतावासले जनाएको छ। त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

यस्तै, ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने छ भने पूर्वाधार निर्माणको सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरूका लागि इजरायलको कृषि, सेवा क्षेत्र, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए।

साथै राजदूत डा. शाक्यले विभिन्न विधामा विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिएको र इजरायली परराष्ट्र मन्त्री नेपालसँग सहकार्य गर्न इच्छुक रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-01 11:11:58

प्रतिकृया दिनुहोस्