रौतहटको गरूडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ। अनैतिक सम्बन्धको आरोपमा पक्राउ परी हिरासतमा रहेकी महिला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।
गुजरा नगरपालिका– २ कटानी बजारकी राधिका राउतको गरुडास्थित महिला प्रहरी सेल हिरासतमा मृत्यु भएको हो। महिला सेलका सुरक्षाकर्मीले बिहान राउतलाई मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
एक युवकसँग अनैतिक सम्बन्ध राखेका वेला उनका श्रीमान् सुमन राउतले बुधबार साँझ फेला पारी वडाध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले दुवैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । राधिकाले आफू छारेरोगको रोगी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन् । हिरासतमा रहेका वेला राति उनलाई दुईपटक छारेरोगले च्यापेको थियो । राधिकाका श्रीमानले पनि लामो समयदेखि उनी छारेरोगको उपचार गराइरहेको प्रहरीलाई बताएका छन् ।
हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । यसभन्दा अघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडाको हिरासतमै मृत्यु भएको थियो ।