भरतसिंह १०१ दिनमा कोरोनालाई जित्ने पहिलो एसियाली

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्व केन्द्रीय मन्त्री भरतसिंह सोलंकीले कोरोना भाइरससँगको १०१ दिन लामो लडाईं जितेका छन्।

उनी यति लामो समय कोरोनासँग लडेर जित हात पार्ने पहिलो एसियाली नागरिक पनि बन्न सफल भएका छन्। 

उनी ५१ दिनसम्म भेन्टिलेटरमा थिए। बिहीबार उनलाई अहमदाबादको सिम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो। 

कोरोनाका कारण उनको फोक्सो कडा भइसकेको थियो। भेन्टिलेटरमा भर्ना गरिएपनि उनको अक्सिजन लेवल बढ्न सकेको थिएन।

उनलाई सतप्रतिशत अक्सिजन दिँदा पनि ८५ प्रतिशत शरीरमा पुगेको थियो। 

उनको उपचारमा चार डाक्टर, नर्सिङ, प्यारामेडिकल र फिजियोथेरापिस्टसहित १२ जनाको टिम खटिएको थियो। 

सिम्सका पल्मोनोलोजिस्ट डा. अमित पटेलका अनुसार ६७ वर्षीय भरतसिंह कोरोना संक्रमण पोजेटिभ देखिएपछि १० दिन बडोदरामा उपचारार्थ भर्ना भएका थिए। उनलाई ३० जुनमा सिम्समा भर्ना गरिएको थियो। 

शरीरमा पर्याप्त अक्सिजन प्राप्त नभएपछि ४–५ पल्ट ‘लङ्स प्रोनिङ रिक्रुटमेन्ट थेरापी’ प्रदान गरिएको थियो। मल्टिपल एन्टीबायोटिक प्रयोग गरिएर उनलाई इन्फेक्सन मुक्त पारिएको डा. पटेलले बताए। 

उनले अक्सिजन लेवललाई यथास्थितिमा राख्न धेरै चुनौतिको सामना गर्नुपरेको बताए। उनको शरीरको मात्रा २५ देखि ३० प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2020-10-01 17:30:00

प्रतिकृया दिनुहोस्