के सुशान्तसँगै नेपाली नाबालिकाको पनि हत्या भएको थियो?

भारतमा पहिलोपल्ट कुनै कलाकारको निधनलाई लिएर भइरहेको साढे तीन महिना लामो अनुसन्धान थप पेचिलो बन्दै गइरहेको छ। अभिनेता सुशान्त सिंह राजपूतको निधन १४ जुनमा मुम्बईको बान्द्रास्थित उनको फ्लाटमा भएको थियो। 

सुरुमा उनको निधनलाई मुम्बई प्रहरी र महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले आत्महत्या घोषणा गरेका थिए। तर, उनको निधनलाई लिएर शंका उत्पन्न भएपछि परिवारले बिहारको राजधानी पटनामा उजुरी दर्ता गराएको थियो। परिवारले उजुरीमा सुशान्तको निधनमा उनको प्रेमिका रिया चक्रवर्तीको हात रहेको भन्दै छानबिनका लागि आग्रह गरेको थियो। 

सुशान्तको आत्महत्या प्रकरणमा छानवीन गर्ने अधिकार पटना प्रहरीसँग नभएको भन्दै मुम्बई पुलिसले सहयोग गर्न अस्वीकार गरेको थियो। पटनाबाट गएका छानबिन अधिकारीलाई पनि कोरोनाको ‘नियम’ अन्तर्गत १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै मुम्बई महानगरपालिकाले छानबिन गर्न दिएको थिएन। 

यो मुद्दा पेचिलो बन्दै गएपछि बिहार सरकारले केन्द्र सरकार मातहत रहेको जाँच एजेन्सी (सीबीआई) लाई छानबिन गर्न सिफारिस गरेको थियो। छानबिनको विषयलाई लिएर दिल्लीस्थित सर्वोच्च अदालतमा पनि निवेदन परेको थियो। सर्वोच्चले १९ अगस्टमा यो मुद्दाको फैसला गर्दै सीबीआईलाई मुद्दा सुम्पिएको थियो। 

त्यसयता सीबीआईले सुशान्त मुद्दाको छानबिन गर्दै आइरहेको छ। तर, सीबीआईले एक महिनाभन्दा लामो समय छानवीन गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन। 

यसैबीच सुशान्तको आत्महत्या प्रकरणमा नयाँ बहस सुरु भएको छ। सुशान्तको निधन हुँदा उनको फ्लाटबाट दुई वटा मृत शरीर बाहिर निकालिएको र अर्को मृत शरीर नाबालिकाको रहेको मिडिया रिपोर्टमा प्रकाशित भएको छ। 

यी नाबालिका को थिइन्? वास्तवमा १४ तारिखमा सुशान्तको घरमा दुई जनाको हत्या भएको थियो? यो खबरले अहिले मुम्बई तातेको छ। केही ब्लगरले ती नाबालिका नेपाली भएकोतर्फ पनि इसारा गरेका छन्। 

मुम्बईमा देह–व्यापारमा धेरै नेपाली संलग्न छन्। उनीहरूलाई बिचौलियामार्फत नेपालबाट तस्करी गरेर भारतीय नाका हुँदै मुम्बई ल्याउने गरिन्छ। धेरैलाई काम दिलाउने प्रलोभन देखाएर नेपालको विभिन्न गाउँबाट नेपाल–भारत सीमा नजिकै ल्याउने गरिन्छ। र, त्यहाँबाट नाता देखाउँदै भारतको विभिन्न कोठीमा पुर्‍याउने गरिन्छ। 

बाबु–आमा नभएको बालबालिकाको शिक्षाका लागि सुशान्तले एउटा एनजीओलाई सहयोग गर्दै आइरहेका थिए। निधन हुनुभन्दा ७ दिनअघि उनको मेनेजर दिसा सालियानको पनि रहस्यमय ढंगले निधन भएको थियो। दिसाको निधन ८ जुनमा भएको थियो।

प्रहरीले प्रारम्भिक रिपोर्टमा उनको निधनलाई पनि १३ तल्ला माथिबाट हाम्फालेर आत्महत्या गरेको बताएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा उनको शरीरको हड्डी नफुटेको भन्दै सबैले शंका गरेका थिए। 

अहिले सीबीआई दिसा र सुशान्तको निधनमा कुनै सम्बन्ध छ कि भनेर यसको अनुसन्धान गरिरहेको छ। दिसाको निधन हुनुअघि उनले सुशान्तलाई राति फोन गरेको मुम्बईका पूर्व मुख्यमन्त्री नारायण राणेका छोरा निलेशले विभिन्न मिडियामा अन्तर्वार्ता दिएका छन्। 

उनले दावी गरेका छन्, ‘मुम्बईको एउटा ‘हाईप्रोफाइल’ पार्टीमा नाबालिकाहरूलाई यौन शोषणका लागि ल्याएको देखेर दिसाले प्रतिकार गरेकी थिइन्। जुन नाबालिकाहरूलाई त्यो पार्टीमा ल्याइएको थियो, ती नाबालिकहरू सुशान्तले सहयोग गरिरहेको एनजीओसँग आवद्ध रहेको हुनाले दिसाले सबै जानकारी सुशान्तलाई दिएको दावी निलेशको छ।  

गोप्यताका कारण एनजीओको नाम सार्वजनिक गरिएको छैन। तर, मुम्बईका थुप्रै एनजीओमा नेपाली नाबालिकाको उपस्थिति बाक्लो छ। सर्वोच्च अदालतका एक वकिल विभोर आनन्दको दावीलाई मान्ने हो भने ‘लकडाउन’ को अवधिमा मुम्बईबाट तीन हजारभन्दा बढी बालबालिका बेपत्ता भएका छन्। 

देह–ब्यापार तथा मानव ‘अर्गन’ को लागि ती बालबालिकाको विदेशमा तस्करी भएको हुनसक्ने उनको दावी छ। उनले केही युट्युबरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘लकडाउनको अवधिमा मुम्बईको हाईप्रोफाइल पार्टीमा यी नाबालिकालाई यौन दासीको रूपमा पस्किने काम भएको छ।’

उनले बालबालिका हराएको उजुरी कतिले डरका कारण र कति ठाउँमा प्रहरीको बदमासीका कारण दर्ता नभएको बताएका छन्। 

सुशान्तको निधन हुँदा दुई वटा एम्बुलेन्स उनको घरमा बोलाइएको थियो। ‘स्ट्रेचर’ मा उनको शरीर बाहिर निकाल्दा ‘अस्वभाविक’ लागेको थियो। धेरै सञ्चारमाध्यमले ‘स्ट्रेचर’ मा दुई वटा लासलाई कपडाले ढाकेर नदेखिने गरी निकालिएको दावी गरेका छन्। भारतीय मिडियाले ती नाबालिकाको निधनलाई मुम्बई प्रहरीले लुकाउन खोजेको आरोप लगाएका छन्। यस विषयमा सीबीआईले कुनै जानकारी बाहिर ल्याएको छैन।

प्रकाशित मिति: : 2020-10-01 17:45:00

प्रतिकृया दिनुहोस्