अमेरिकी राष्ट्रपतिको अगाडि टिक्न नसकेकै हो कोरोना भाइरस?

संजोग आचार्य

न्युयाेर्क

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विश्व मिडियाको ध्यान आसन्न अमेरिकी चुनावतर्फ मोडिएको थियो। 

धेरैको आशंका थियो– सायद अमेरिकी चुनावको मिति सर्छ होला। तर, यसको केही दिनमै यी सबै अड्कलबाजी समाप्त भयो। 

रमाइलो कुरा, राष्ट्रपति ट्रम्पको कोरोना संक्रमणमा पनि नयाँ मोड आएको छ। सोमबार राती मात्र अस्पतालबाट डिस्चार्ज भएर व्हाइट हाउस फर्किएका अमेरिकी राष्ट्रपतिको कोरोना एकाएक गायब भएको छ। 

विश्वको शक्तिशाली व्यक्तिलाई एक साता पनि नबित्दै कोरोनाले छोड्नु आफैमा कम अपत्यारिलो छैन। 

राष्ट्रपतिका डाक्टर सान कोनले यसको पुष्टी गर्दै भनेका छन्–राष्ट्रपतिमा अहिले कोरोनाको कुनै लक्षण देखिएको छैन। उनी स्वास्थ्य छन्। ट्रम्पलाई पाँच दिनअघि कोरोनाको लक्षण देखिएको थियो।

आफ्नो चिकित्सकबाट ‘हरियो झण्डा’ पाएपछि ट्रम्पले १५ अक्टुबरमा आउँदो ‘प्रेसिडेन्सियल डिबेट’ मा भाग लिने सम्भावना बलियो बनेको छ। दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ मियामीमा आयोजना हुदैछ। 

ट्रम्पले व्हाइट हाउस फर्किएपछि अमेरिकी जनतालाई एउटा स्पष्ट सन्देश दिन खोजेका छन्, ‘कोरोनाबाट त्यति धेरै आत्तिनु पर्दैन।’ तर, चिकित्सकले राष्ट्रपतिलाई स्वास्थ्यमा बढी ध्यान दिन आग्रह गरेका छन्। 

कोरोनाले पछिल्लो समय उमेर पुगेका व्यक्तिलाई बढि प्रभावित पारेको थियो। ट्रम्पको उमेर पनि ७४ वर्ष पुगिसकेको छ। त्यसैले केही स्थानीय मिडियाले उनको स्वास्थ्यलाई लिएर गरेको भद्धा टिप्पणीप्रति परिवारका सदस्यले आपत्ति जनाइसकेका छन्। 

व्हाइट हाउस फर्किएपछि ट्रम्पले अनुहारबाट मास्क हटाएका थिए। पाँच दिनअघि राष्ट्रपति ट्रम्पसहित १५ सांसद तथा अधिकारीहरू संक्रमित भेटिएका थिए। 

अमेरिकाबाट प्रकासित केही अखबारले १५ अक्टुुबरमा हुने ‘प्रेसिडेन्सियल डिबेट’ मा ट्रम्पले भाग लिने कुराको पुष्टी गर्न खोजेका छन्। यद्धपि व्हाइट हाउसबाट कुनै औपचारिक घोषणा भएको छैन।  

ट्रम्पका नीजि चिकित्सक कोनले भनेका छन्,‘राष्ट्रपति पूर्ण रूपले खतरामुक्त भइसके भन्ने अवस्था होइन। केही सावधानी अपनाउनु पर्ने अवस्था छ। उनको उपचार जारी छ।’

अस्पतालबाट बाहिर निस्किँदा ट्रम्प सुट र मास्कमा देखिएका थिए। उनले मिडियातर्फ हाथ हल्लाएर जनतालाई अभिवादन गर्न खोजेका थिए। मिडियाले टाढैबाट उनीसँग केही प्रश्न गर्न खोज्दा उनी धन्यबाद भन्दै पन्छिए। 

अस्पतालबाट बाहिर निस्किएका ट्रम्प आफ्नो आधिकारीक हेलिकोप्टर मरिन–वानमा बसेर १० मिनेटमा व्हाइट हाउस पुगेका थिए। यस अवधिमा उनले अनुहारबाट मास्क हटाएका थिए। 

ट्रम्पलाई मास्क नलगाएको अवस्थामा टेलिभिजनमा अमेरिकी जनताले प्रत्यक्ष हेरेका थिए। ट्रम्प पहिलेदेखि मास्कको विरोधमा छन्। उनी यसअघि सार्वजनिक कार्यक्रममा दुई पल्ट मात्र मास्क लगाएर उभिएको देखा परेका थिए। 

ट्रम्पको उपचारमा संलग्न नीजि चिकित्सक कोनलाई मिडियाले राष्ट्रपतिको स्वास्थ्यको विषयमा जानकारी लिन खोजेपनि उनले पूर्ण विवरण दिन चाहेनन्। 

उनले ट्रम्पलाई एन्टी भाइरल खोप रेमडेसिविरको अन्तिम डोज दिएको बताए र भने, ‘उनको उपचार भइरहेको छ। साताको अन्त्यसम्म हामीले पर्खनुपर्ने हुन्छ। अहिले हामी सन्तुष्ट छौं।’

उनले राष्ट्रपतिको स्वास्थ्यमा आफूहरूले विशेष ध्यान दिएको बताएका छन्। ट्रम्पको सूचना सचिव केली म्याक्केनीको कोरोना पनि पोजेटिभ देखिएको छ। 

ट्रम्पले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा भनेका थिए, ‘कोभिड–१९ बाट डराउनु पर्ने केही छैन। यसलाई आफ्नो जीवनमा हावी हुन नदिनु। तपाईले सहजै यसलाई जित्न सक्नुहुन्छ।’

केही मिडियाको रिपोर्ट अनुसार ट्रम्पले ‘प्रेसिडेन्सियल डिबेट’ का लागि तयारी सुरु गरिसकेका छन्। उनको चुनावी अभियानका व्यवस्थापक रायन नोब्सले भनेका छन्, ‘ट्रम्पले दोस्रो बहसमा भाग लिनेछन्। मलाई यस विषयमा जानकारी आएको छ।’ ट्रम्पले बहसमा भाग लिने विषयमा आधिकारीक घोषणा हुन बाँकी छ। 

प्रकाशित मिति: : 2020-10-07 13:20:38

प्रतिकृया दिनुहोस्