भक्तपुरमा किशोरीलाई बसभित्र सामूहिक बलात्कार गरेका थप एक युवक पक्राउ

निरज बाडे

भक्तपुर

भक्तपुरमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरकाे घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए।  महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट नियन्त्रणमा लिएर भक्तपुरमा ल्याएको उनले बताए। 

असोज १७ गते भक्तपुर नगरपालिका ८ कालाँचामा ३ जना युवकले किशोरीलाई सामूहिक बलात्कार गरेका थिए। बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो। 

बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। यसअघि पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी १० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ घर भएका सुर्य श्रेष्ठ छन्।

आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए। लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।  

प्रहरीका अनुसार किशोरीलाई दिपेशले रातभर बलात्कार गरेपछि भोलिपल्ट निरकुमार र सुर्यलाई किशोरी जिम्मा लगाए थिए। किशोरी बेहोस अवस्थामा देखेर अन्य गाडीका स्टाफले प्रहरीलाई सूचना दिएपछि घटना बाहिरिएको थियो।

प्रकाशित मिति: : 2020-10-09 13:26:52

प्रतिकृया दिनुहोस्