स्पेन युइएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएकाे खेलमा युक्रेनसँग १–० ले स्तब्ध बनेको छ।
घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा शीर्षस्थानमा रहेको स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि रक्षापङ्ति तोड्न सकेन।
३६औं मिनेटमा युक्रेनले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन।
७६औं मिनेटमा ओलक्सान्डरको स्थानमा मैदान छिरेका भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।
उनले एन्ड्री यार्मोेलेन्कोको पासलाई नियन्त्रणमा लिदै गोलरक्षक डेभिड हे गेया अघि बढेको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएको थियो।
स्पेन झण्डै दुई वर्षमा पहिलोपटक पराजित भएको छ। यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ। अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो।
युक्रेनसँगको हापछि पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ। स्पेनको ४ खेलबाट ७ अंक रहेको छ।
समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक भएपनि जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ। स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ।
मंगलबार राति भएका अरु खेलमा माल्टाले लात्भियालाई १–०, फारोइ आइल्याण्डले एन्डोरालाई २–० तथा लग्जेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले पराजित गरेका छन्।
यस्तै अजरबैजान र साइप्रस तथा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन्।