एक जनामा काेराेना संक्रमण पुष्टि भएपछि खुम्बुमा पर्यटक आवागमनमा राेक

कोरोना संक्रमणको जोखिमका कारण सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक आउन अनिश्चितकालीन रोक लगाएको छ। 

एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि पर्यटकलाई नै रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए। 

‘एक जनामा संक्रमण पुष्टि भएपछि व्यवसायीले सेवा दिन नसक्ने बताए। सोही कारण आउने पाहुनालाई असहज होला भनेर हामीले पूर्णरुपमा रोक लगाएका हौं,’ उनले भने। 

उनले आजैदेखि खुम्बुमा हेलिकप्टर तथा जहाजको सेवा दिने सबै एयरलाइन्सलाई पत्र पठाएर यात्रु नल्याउन भनेको जानकारी समेत दिए। 

विभिन्न एयरलाइन्सले ल्याएका आकर्षक प्याकेजका कारण खुम्बु घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ।

संक्रमण बढ्नसक्ने भन्दै यसअघि पनि गाउँपालिकाले लुक्ला विमानस्थलमा ओर्लने सबैलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-10-24 19:25:00

प्रतिकृया दिनुहोस्