नासाकाे दावी: चन्द्रमाको सतहमा भेटियो पानी, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ। 

जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित दुईवटा पेपरमा चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको नासाले जनाएकाे हाे। याेसँगै  वैज्ञानिकहरुले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ।

चन्द्रमामा पानीको अभाव छ भन्‍ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको थियो। तर, नासाका वैज्ञानिकले यसअघि बताइएभन्दा कैयौं गुणा बढी पानी फैलिएको पाइएको दावी गरेका छन्। 

अन्तरिक्ष यान स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी (सोफिया) मा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट पानी उपलब्ध रहेको कुरा थाहा पाएकाे नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले जानकारी दिएकाे छ।Image of Moon and illustration depicting water trapped in lunar soil and NASA’s Stratospheric Observatory for Infrared Astronomy

उनका अनुसार सो टेलिस्कोपबाट वैज्ञानिकले बाफको अवस्थामा रहेको पानी पत्ता लगाएका हुन्।

सोफियामा रहेको विशेष प्रकारको इनफ्रारेड क्यामरामार्फत वाटर मलिक्यूल्सलाई क्याप्चर गर्न सकिएको नासाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। 

नासाले चन्द्रमामा विभिन्‍न खनिज पदार्थहरुमा पानी रहेको र अधिकांश पानी बरफका रुपमा जमेर रहेको बताएको छ।

११ वर्षदेखिको खोजमा लागेका नासाका वैज्ञानिकहरुले चन्द्रमामा व्यापक रुपमा बरफ फैलिएको बताएका छन्। 

ब्रिडेनस्टाइनले दिएकाे जानकारी अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा वाटर मलिक्यूल्सहरु देखिएका हुन्।

ब्रिडेनस्टाइनका अनुसार एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको छ।

वैज्ञानिकहरुको अर्को टोलीले करिब ४० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको बताएको छ।

पत्ता लागेको पानी तरल अवस्थामा नभए पनि हिउँ बनेको अवस्थामा पनि नरहेको ब्रिडेनस्टाइनले बताए।

पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको नासामा कार्यरत वैज्ञानिकहरुले बताएका छन्।

यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ।

यसअघि नासाले नै गरेकाे अनुसन्धानमा चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो।

प्रकाशित मिति: : 2020-10-27 08:58:00

प्रतिकृया दिनुहोस्