जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन्।
समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताए।
उनले भने, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो। जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा खुुःशी लागेको छ।'
मादी गाउँपालिकाको वडा नं ४ र १२ को वडा भवन निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ । त्यसैगरी वडा नं ५,६,७,८,९ को निर्माणाधीन छ। वडा नं ३ र १० को प्रक्रिया शुरु भएको बताइन्छ। त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं ४,५,७,८ र ९को भवन निर्माणाधीन छन्। माछापुच्छ«े गाउँपालिकाको वडा नं ९ को वडा भवन निर्माण सम्पन्न भइसकेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए।
जिल्ला समन्वय समितिको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी वडाका भवन निर्माण गरिएको हो। समन्वय प्रमुख अधिकारीका अनुसार रु ६० लाखदेखी ९० लाखसम्म लागतमा भवन निर्माण गरिएको हो । सङ्घीयता कार्यान्वयन अघिको साविकको जिल्ला विकास समितिको खातामा रहेको रु ३० करोड हाराहारीको रकम सङ्घीयतापछि जिल्ला समन्वयको खातामा बचत हुन आएको हो। सोही रकम समन्वय समितिले जिल्लाका स्थानीय तहहरुको प्रशासकीय भवन तथा वडा भवन निर्माणमा लगाएको हो।
पोखरा महानगरलाई रु आठ करोड तथा अन्य चार गाउँपालिकालाई रु चार करोड नघट्ने गरी मौज्दात रकम विनियोजन गरिएको थियो। सो रकम पालिकाहरुले साझेदारीमा वडा भवन नभएका ठाउँमा भवन निर्माणका लागि माग गरेका हुन्। विनियोजित रकम कतिपय पालिकाले भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने भएका छन्। समन्वयले सटर तथा जग्गा भाडा लगायतबाट वार्षिक रु एक करोड बराबर आन्तरिक आय गर्दै आएको छ। रासस