नेपालद्वारा १०२ अन्तर्राष्ट्रिय आतङ्कवादी समूह तथा व्यक्तिको सम्पत्ति तथा कोष रोक्का

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

सुरेन्द्र पौडेल

नेपालले अन्तर्राष्ट्रिय १०२ आतङ्कवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरेको छ। आतङ्कवादी क्रियाकलापमा संलग्न विश्का २४ भन्दा बढी देशका व्यक्ति र समूह यसका परेका छन्।

पछिल्लो समय श्रीलंकाले गरेको अनुरोधअनुसार आतङ्कवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का सूची अद्यावधिक गरी गत साता गृहले सम्बन्धित निकायहरूलाई पठाएको थियो। 

“भर्खर श्रीलंका सरकारले अनुरोध गरेका आधारमा सूची अपडेट गरेका छौँ। नेपालको समूह वा व्यक्ति यो सूचीमा परेका छैनन्,” गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले देखापढीसँग भने, “आतङ्कवादीहरूको पैसा नेपाल नआहोस् र यहाँबाट कुनै त्यस्तो क्रियाकलाप पनि हुन नसकोस् भनेर उनीहरूको सम्पत्ति तथा कोष रोक्का गरिएको हो।”

नेपाल सरकारले सम्पत्ति तथा कोष रोक्का गरेको अन्तर्राष्ट्रिय आतङ्कवादीको सूचीमा ११ वटा समूह र ९१ व्यक्ति रहेका छन्। विश्वका २४ देशका ७५ वटा व्यक्ति तथा समूह यो सूचीमा रहेका छन् भने बाँकी २७ आतङ्कवादी व्यक्ति तथा समूहको कून देशका हुन् भन्ने सूचीमा छुट्याइएको छैन।

“विभिन्न देशको अनुरोधको आधारमा सूची बनेको हो। हामीले पनि अनुरोध गर्‍यौँ भने अन्य देशले यसरी नै सम्बन्धित व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरिदिन्छन्,” गृह प्रवक्ता बुढाले भने। 

नेपालले सम्पत्ति तथा कोष रोक्का गरेको सबैभन्दा धेरै आतङ्कवादी व्यक्ति तथा समूहमा पाकिस्तान, इजिप्ट र अल्जेरियाका रहेका छन्। पाकिस्तानका १० र इजिप्ट र अल्जेरियाका ७-७ व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरिएको छ। 

प्रकाशित मिति: : 2020-10-28 16:53:00

प्रतिकृया दिनुहोस्