चुनावअघि अमेरिकामा बन्दुक बिक्रीमा कीर्तिमान, ८ महिनामा १ करोड ७० लाख बिक्री

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकामा चुनाव अगाडि बन्दुक बिक्रीको घटनाले सबै कीर्तिमान तोडेको छ। मंगलबार हुने मतदानअघि अमेरिकामा यो वर्ष मात्र १ करोड ७० लाखभन्दा बढी हतियार खरिद बिक्री भएको छ। 

अमेरिकी चुनाव र यसपछि हुनसक्ने हिंसाको आशंकाका बीच यति ठूलो परिमाणमा हतियारको बिक्री भएको हो। सन् १९०४ देखिको परम्परा विपरित यसपालि अमेरिकी चुनावको नतिजा आउन ढिलो हुनेछ।  

कोरोना महामारीका कारण अमेरिकी जनताले डाकबाट सबैभन्दा बढी मतदान गरेका छन्। यी मतहरू मतदान केन्द्रमा आउन र यसको गणना कार्य एक सातापछि मात्र सुरु हुने सम्भावना छ। अमेरिकामा १९०४ यता चुनाव भएको भोलिपल्टै परिणाम घोषित हुने गर्दथ्यो। 

अमेरिकी राष्ट्रपति ट्रम्पले मतगणना कार्यमा हुने ढिलाईंका बीच हिंसा भड्किने सम्भावनालाई नकारेका छैनन्। अझ उनले धांधलीको सम्भावना बढ्ने बताएपछि अमेरिकी जनता रनभूल्लमा छन्। 

एक तथ्यांक अनुसार यस वर्ष ६० लाख मानिसले नयाँ हतियार खरिद गरेका छन्। यसमा काला जातिका मानिसहरू बढी बताइएको छ। अझ रोचक कुरा, यसमा हतियार खरिद गर्ने महिला ४० प्रतिशत छन्। 

गत सेप्टेम्बरमा मात्र १८ लाख बन्दुकको बिक्री बितरण भएको थियो। गत वर्षको तुलनामा ६६ प्रतिशतले हतियार खरिदमा बृद्धि भएको हो। 

अमेरिकामा सानो हतियारको किनबेचको विश्लेषण गर्ने रिसर्र्च कन्सल्ट्यान्स ‘स्मल आर्मस एनालिटिक्स एण्ड फोरकास्टिङ (एसएएएफ)’ का प्रमुख जर्गन ब्रेउरका अनुसार यो अगस्टभित्र अमेरिकामा गत वर्षको बराबर हतियार बिक्री भइसकेको छ। 

‘सेप्टेम्बरमा सबैभन्दा बढी बन्दुक बिक्री भएको छ,’ ब्रेउरले भनेका छन्, ‘यसअघि २०१६ मा सबैभन्दा बढी १ करोड ६६ लाख बन्दुक बिक्री भएको थियो।’

अमेरिकामा गत सेप्टेम्बरको तुलनामा यसपालिको सेप्टेम्बरमा ह्याण्डगनको बिक्री ८१ प्रतिशत र सिङ्गल लङ्गनको बिक्री ५१ प्रतिशतले बढेको छ। सामान्य बन्दुकको बिक्री पनि ५० प्रतिशतले बढेको छ। 

ब्रेउर आत्मरक्षाका नाममा बन्दुक किन्नेको संख्या बढेको र यसमा कपडामा राख्न सजिलो हुने ह्याण्डगन सबैभन्दा बढी बिक्री भएको बताउँछन्। 

चुनावमा हुने हिंसालाई ध्यानमा राख्दै वालमार्टले यसै सातादेखि आफ्नो सबै पसलबाट बन्दुक र गोली हटाउने निर्णय गरेको छ। स्टोरका मेनेजरले चुनावका बेला हुनसक्ने लुटपाटको घटना बन्दुकको माध्यमबाट बढी हुनसक्ने आशंकाका बीच यस्तो निर्णय लिनुपरेको बताएका छन्। 

फेसबुकका कार्यकारी निर्देशक मार्क जकरबर्गले पनि राष्ट्रपति चुनावमा हिंसा हुनसक्ने सम्भावनालाई नकारेका छैनन्। उनले आफ्नो देश राजनीतिक रूपमा बाँडिएकोमा चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2020-11-03 06:09:00

प्रतिकृया दिनुहोस्