अमेरिकी राष्ट्रपति चुनावका एक गुमनाम पात्र

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकाको आसन्न राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेन निकै चर्चामा छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा हरेक दिन उनीहरूकै चर्चा हुने गरेको छ।  

तर, ४६ औं राष्ट्रपति चुनावमा अर्को पनि एक उम्मेदवार छन्, जो गुमनाम जस्तै छन्। उनी हुन्, ग्रीन पार्टीका उम्मेदवार होवी हकिन्स। हकिन्स गत चुनावमा पनि राष्ट्रपति पदमा उठेका थिए। त्यतिबेला ट्रम्पलाई जिताउन उनको भूमिका महत्वपूर्ण मानिन्थ्यो। उनले डेमोक्र्याट पार्टीकी लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्न धेरै ठाउँको मत काटेका थिए। 

यसपालि पनि उनी मैदानमा छन्, तर गत चुनाव जस्तै गुमनाम उम्मेदवारको रूपमा। उनको पार्टीले ५० मध्ये ४६ राज्यमा आफ्नो प्रतिनिधि उठाएको छ। यसपालि उनी ट्रम्प र वाइडेन दुबैको विरोधमा छन्। तर, उनलाई न अमेरिकी मिडियाले धेरै महत्व दिएको छ, न विदेशी मिडियाले नै। 

हालै उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकाको हित न रिपब्लिकनबाट हुन्छ, न डेमोक्र्याट पार्टीबाटै। यिनीहरू जनताको हितमा काम गर्न सक्षम छैनन्।’

उनी रिपब्लिकन र डेमोक्र्याट पार्टीलाई कर्पोरेट पार्टीको रूपमा ब्याख्या गर्छन। ‘यी दुबै युद्धको उधोग चलाउन खप्पीस् छन्। मिडिया पनि उनीहरूको प्रवक्ता बनेको छ,’ उनले भनेका छन्, ‘अमेरिकामा अहिले ठूलो मुद्धा चलाइएको छ– ट्रम्प र वाइडेनबीच को राम्रो  भन्ने? म सोध्न चाहन्छु– अमेरिकी भनेको को हुन? कर्पोरेट वा युद्ध सामाग्रीसँग जोडिएका व्यापारी अमेरिकी हुन भने वाइडेन ठिक छन्, किनभने उनको व्यवहार सभ्य छ। तर, पोलिसीको कुरा गर्दा ट्रम्प र वाइडेनमा केही अन्तर नै छैन।’

उनी अमेरिकामा भाडाको घरमा बसोबास गर्ने मानिस, मध्यवर्गीय परिवार, सैनिक, केटाकेटी, महिला तथा रोगी बुढाबुढी अमेरिकाको चित्र भएको बताउँछन्। त्यसैले उनी न ट्रम्पलाई राष्ट्रपतिको वास्तविक अनुहार मान्छन्, न वाइडेनलाई नै। ‘ट्रम्प र वाइडेनमा कोही राष्ट्रपति भए पनि अमेरिकी जनताको समस्या समाधान हुनेछैन,’ उनको स्पष्ट भनाई छ। 

उनले ट्रम्पलाई जातीवादी नेताको संज्ञा दिएका छन्। गोरा जातिले अमेरिकामा जति अपराध गर्दा पनि खुला हिँड्ने प्रवृत्ति ट्रम्पको कार्यकालमा मौलाएको भन्दै उनले भने, ‘हाम्रो पार्टी जातीवादी तानशाह प्रवृत्तिका ट्रम्प र कर्पोरेटको बन्धक भएको डेमोक्रेट (वाइडेन) को विरोधमा छ। त्यसैले हामी छुट्टै चुनाव लडिरहेका छौं।’

हकिन्सको उपस्थिति अमेरिकी चुनावमा ७३ प्रतिशत भोटमा छ। ५३८ मध्ये ३८० इलेक्टोरल कलेजका सदस्यले हकिन्सलाई मतदान गर्न सक्छन्। ट्रम्प र वाइडेनलाई नरुचाउँने भोटरले पनि उनलाई मतदान गर्न सक्छन्। 

हकिन्सको तर्क आफ्नो ठाउँमा छदैछ। तर, उनले यसपालिको चुनावमा खासै केही नौलो गर्न सक्ने सम्भावना न्युन छ। किनभने अमेरिकीहरूले ट्रम्प र वाइडेनमध्ये एकलाई छान्ने मन बनाइसकेका छन्। त्यसैले यसपालि पनि उनी गुमनाम उम्मेदवारको रूपमा राष्ट्रपति चुनावमा ओर्लिएका छन्। 

प्रकाशित मिति: : 2020-11-03 13:37:00

प्रतिकृया दिनुहोस्