किन अदालत जाने धम्की दिँदै छन्, ट्रम्प?

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति चुनावको नतिजा अनिश्चित बन्न पुगेको छ। पहिले चुनाव सम्पन्न भएको भोलि पल्टै नयाँ राष्ट्रपतिको नाम सार्वजनिक हुन्थ्यो। तर, यसपालि कोरोना भाइरसको महामारीका कारण चुनावी प्रक्रिया परिवर्तन हुँदा यसले पुरै नतिजामा प्रभाव पारेको छ। 

करिब १० करोड अमेरिकीले ‘अर्ली भोट’ गरेका छन्। अर्थात उनीहरूले चुनावभन्दा अगाडि नै डाक र ‘मेल इन भोट’ को माध्यमबाट मतदान गरेका थिए। चुनाव आयोगलाई मतगणनामा समय लाग्ने देखिएको छ। 

यसैबीच वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णयका लागि अदालतको ढोका ढकढकाउने भनेर सबैलाई असमञ्जसमा पारिसकेका छन्। 

उनले ‘ब्यालेट्स’ को मतगणना स्थगित गराउन सर्वोच्च अदालत जाने बताएका छन्। आखिर त्यस्तो के भयो, जसका कारण अमेरिकी राष्ट्रपतिले यस्तो धम्की दिनुप¥यो? यो बुझन् एकछिन, अमेरिकी चुनावको प्रक्रिया थाहा पाउन जरुरी छ। 

अमेरिकी राष्ट्रपति चुनाव लोकप्रिय मतले जितिदैन। सबै राज्यमा जित हासिल गर्नुको साथै चुनावी मैदानमा उत्रिने पार्टीले आफ्नो लागि इलेक्टोरल भोट्स हात पार्नु जरुरी हुन्छ। व्हाइट हाउस पुग्न ५० राज्यको ५ सय ८ इलेक्टोरल कलेज मतमध्ये २ सय ७० मत प्राप्त गर्नु अनिवार्य छ। अर्थात जितका लागि उम्मेदवारले अनिवार्य २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। 

अमेरिकी चुनावमा मतगणना सम्पन्न हुनुअघि अमेरिकाको प्रमुख मिडियाहरूले सबै राज्यमा कुनै एक उम्मेदवारलाई विजेता घोषित गर्ने चलन छ। यो अन्तिम मतगणनाको आधारमा नभई, सम्भावनाको आधारमा हुने गर्छ। जुन प्रायः सतप्रतिशत मिल्न पनि जान्छ।  

२०१६ को चुनावमा वासिङ्टनमा बिहान २ बजेर ३० मिनेट जाँदा आवश्यक २ सय ७० को इलेक्टोरल मत एक ठाउँमा पुगेपछि मिडियाले ट्रम्पलाई विजेता घोषित गरेका थिए।  

नेपालभन्दा यहाँको चुनावी प्रक्रिया भिन्न छ। हामी कहाँ चुनाव सम्पन्न हुने वित्तिकै मतगणना कार्य सुरु हुदैन। न इलेक्ट्रोनिक भोटिङ मेसिन नै प्रयोग हुन्छ, जसका कारण केही घण्टामै मतगणनाको परिणाम सार्वजनिक होस्। जबसम्म आधिकारीक घोषणा हुदैन, हाम्रो मिडियाले मतगणनामा अग्रता बनाउने उम्मेदवारलाई विजयी भनेर समाचार सम्प्रेषण गरिरहेका हुन्छन्। 

अमेरिकामा यस्तो हुदैन। यहाँ औपचारिक घोषणामा समय लाग्छ। यसैले मिडियामार्फत नै राष्ट्रपति चुनावको तस्वीर हेर्ने गरिन्छ। 

यसपालि कोरोना महामारीका कारण अमेरिकामा नतिजा आउन ढिलो हुने पक्का छ। ६८ प्रतिशत मतदाताले ‘अर्ली भोटिङ’ गरेका छन्। अमेरिकामा पहिलेदेखि नै यो सुविधा थियो। केही राज्यले चुनाव घोषणा भएको दिनभन्दा अगाडिदेखि नै मतदान गर्ने सुविधा दिँदै आएका थिए। यहाँ डाकमार्फत मतदान गर्ने सुविधा पनि छ। 

डाकमार्फत हुने मतगणना ढिलो हुन्छ। किनभने मतदाताको परिचय र उ बसोबास गर्ने ठाउँको सबै जानकारी पहिले प्रमाणित गर्नुपर्ने हुन्छ। ‘काउन्टिङ मेसिन’ मा सबै तथ्यांक राख्नुअघि मतपत्रको थुप्रै पल्ट छानवीन हुन्छ। 

केही राज्यले मतगणनामा ढिलाई नहोस् भनेर चुनावको दिनभन्दा अघि नै मतपत्र रुजु गर्ने काम सुरु गरिसकेका थिए। तर, केही राज्यमा यस्तो भएन।  

ट्रम्पले फ्लोरिडा, ओहियो, टेक्सासमा जित हात पारिसकेका छन् तर एरिजोना गुमाएका छन्। यहाँ जो वाइडेन विजयी भएका छन्। वाइडेनले मिसिगन र विसकान्सिनमा जित हात पारेको खण्डमा जर्जिया र पेन्सेल्भेनियामा पराजय भोगे पनि ट्रम्पभन्दा दुई इलेक्टोरल कलेज मतले अगाडि हुनेछन्।  

यी राज्यमा हालसम्म लाखौं ‘पोस्टल भोट’ को गणना हुनसकेको छैन। एक अनुमानअनुसार थुप्रै डेमोक्र्याटले कोरोनाको डरले ‘पोस्टल ब्यालेट’ बाट मतदान गरेका छन्। डेमोक्र्याटको तुलनामा रिपब्लिकन मतदाताले कम मात्रामा ‘पोस्टल ब्यालेट’ बाट मतदान गरेको दावी गरिएको छ।  

जर्जियाको नियमअनुसार ‘अबसेन्टी ब्यालेट्स’ लाई पहिले नै तयारीको लागि स्विकृति प्रदान गरिएको थियो, तर यहाँ पनि ठूला जिल्लाहरूमा भोटिङ ढिलो सुरु भयो। जसका कारण केही जिल्लामा मंगलबार रातीसम्म मतदान भइरहेको थियो। यसले मतगणनालाई प्रभावित पारेको छ।  

विसकान्सिनको अवस्था पनि यस्तै थियो। यहाँ वाइडेनले केही अग्रता लिएका छन्। पेन्सेल्भेनियामा ट्रम्प केही अगाडि देखिए पनि निर्णय आउन दुई दिन लाग्ने बताइएको छ। मिसिगनमा पनि चुनावको दिनभन्दा २४ घण्टा अगाडि नै ‘पोस्टल ब्यालेट्स’ लाई तयारी अवस्थामा राख्न अनुमति प्रदान गरिएको थियो तर चुनाव आयोगले यहाँ पनि नतिजा छिटो आउने सम्भावना नरहेको बताएका छन्। 

ट्रम्पले चुनावभन्दा अघि नै स्पष्ट पारिसकेका छन्, आवश्यक परे अदालतको ढोका ढकढकाउने। उनले अदालतबाटै मत परिणामको छिनोफानो हुने स्पष्ट पारेका थिए। यसको अर्थ हो, सन् २००० को चुनावी नतिजा। त्यतिबेला डेमोक्रेटिक उम्मेदवार अल गोर फ्लोरिडामा ५ सय ३७ मतले पराजित भएका थिए। विवादका बीच पुनः भएको मतगणना र सर्वोच्च अदालतको निर्णयपछि जर्ज डब्ल्यु बुसलाई विजेता घोषित गरिएको थियो। 

२०२० को चुनावभन्दा अगाडि ३ सय बढी मुद्धा अदालत पुगिसकेको छ। यी सबै चुनावी प्रक्रियासँग जोडिएका मुद्धा हुन्। ‘पोस्टल ब्यालेट्स’ मा भएको अनियमितता र परिवर्तन भएको चुनावको नियमविरूद्ध मुद्धा अदालतमा विचाराधीन अवस्थामा छ। यदी यो मुद्धा अगाडि बढेको खण्डमा अमेरिकी चुनावको नतिजा बाहिर आउन अझ केही दिन कुर्नुपर्ने पक्का छ। 

प्रकाशित मिति: : 2020-11-05 06:29:00

प्रतिकृया दिनुहोस्