मिठाई व्यापार भएन उत्साहजनक

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

निर्मला घिमिरे

उज्यालोको पर्व मात्र नभएर मिठाईको पर्व पनि हो तिहार। दिदीबहिनीले आफ्ना दाजुभाइहरुलाई भाइटीकाको दिन टीका लगाएर मीठा–मीठा परिकार खुवाउने प्रचलनअनुरुप तिहारमा मिठाईको प्रयोग बढ्दै गएको छ। 

यतिबेला उपत्यकाका मिठाई पसलहरुमा थरिथरिका मिठाई तयार गरी बेच्न राखिएका छन्। पसलेहरु ग्राहक कुरिरहेका छन् । तर कोरोना महामारीकाबीच यस वर्षको तिहारमा मिठाई खरिदका लागि सोचेजति ग्राहक नआएको व्यापारीहरुले बताएका छन्। 

मिठाई व्यापारीहरु अघिल्ला वर्षजस्तो उत्साहित हुन सकेका छैनन्। सोचेजस्तो व्यापार नभएपछि झण्डै ८ महिना थला परेको मिठाई व्यापार तंग्रिने आशामा बसेका उनीहरु अझै उत्साहित हुन नसकेका हुन्। 

लक्ष्मीपुजाको दिन पनि व्यापार सोचेजस्तो नभएको कलंकी चोकस्थित मिठाई भण्डारका सञ्चालक प्रदीप उपाध्याय बताउँछन्। 

‘अघिल्ला वर्ष यतिबेलासम्म २ लाखको व्यापार भइसक्थ्यो। यो वर्ष त खै केही व्यापार छैन,’ उपाध्यायले नेपाल लाईभसँग भने । 
 
२४ वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा मिठाई व्यापार गर्दै आएका उनी यो वर्ष सबैभन्दा कम व्यापार भएको बताउँछन्। 

‘आजभोलि त मुस्किलले ३० हजारसम्मको व्यापार हुन्छ। लक्ष्मी पूजाको दिन पनि बिहान त व्यापार छैन । बेलुकासम्म हुन्छ कि भन्ने आशा छ,’ व्यापारी उपाध्याय भन्छन्, ‘व्यापार हुने आशाले मिठाईहरु बनाइएको छ। हेरौँ अब कति हुन्छ ।’

प्रकाशित मिति: : 2020-11-14 12:43:00

प्रतिकृया दिनुहोस्