सिडिओको सरुवा गराउने क्रसर व्यवसायी

दुई महिनाअघि स्थानीय प्रशासनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराएपछि व्यवसायीहरूसँगै संगठित भएका नुवाकोटका जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई सरुवा गर्नेे चेतावनी दिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले त अझ ढकालतर्फ औँला ठड्याउँदै कडा धम्की नै दिए, ‘योभन्दा पहिला पनि हामीले एकजना सिडिओलाई टिन ठटाएर जिल्लाबाट लखेटेका थियौँ, तपाईं पनि याद राख्नुहोला ।’ हुन पनि जिल्लाका प्रायः सबै जनप्रतिनिधि सिडिओ ढकालको सरुवा गराउन लागिपरेका छन् । तर, गृह मन्त्रालयले ढकाललाई साथ दिएका कारण अहिलेसम्म सरुवा गर्न सकेका छैनन्, शीतयुद्ध भने कायमै छ ।

– अवैध क्रसर उद्योगमाथि कारबाही गर्ने तयारी गरेपछि तनहुँका तत्कालीन सिडिओ बद्रीनाथ अधिकारीलाई व्यवसायीहरूकै पहलमा सरुवा गरियो । गत ५ चैतमा तनहुँ पठाइएका उनलाई चार महिना नबित्दै सरुवा गरिएको थियो । गृह मन्त्रालयले गत ६ साउनमा अधिकारीलाई तनहुँबाट राष्ट्रपति कार्यालय सरुवा गरेको थियो । दुई दिनअघि मात्रै सिडिओ अधिकारीले नदीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका अवैध क्रसर उद्योगमाथि कारबाही गर्न स्थलगत अनुगमन गरेका थिए । यसबाट झस्किएका क्रसर उद्योगीहरूको सेटिङमा गृह मन्त्रालयले उनलाई तत्काल सरुवा गरेको थियो । 

– लमजुङका तत्कालीन सिडिओ डा. डिजन भट्टराईले  २८ कात्तिक ०७६ मा बेसीसहरस्थित ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशय किनारमै सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन र नजिकको त्रिवेणी रोडा ढुंगा एन्ड ब्लक उद्योग बन्द गराएका थिए । मापदण्डविपरीत चलिरहेका यी उद्योगमध्ये लमजुङ क्रसर ०७१ देखि र त्रिवेणी ०७३ देखि नवीकरण पनि भएका थिएनन् । १७ मंसिर ०७६ मा भट्टराईको अध्यागमन विभागमा सरुवा भयो । उनको सरुवा भएको एक साता नबित्दै २३ मंसिरमा स्थानीय सरकारले जिल्ला प्रशासनले बन्द गराएका दुवै उद्योग सञ्चालन गर्न दिने निर्णय ग¥यो । राजनीतिक पहुँचका आधारमा बन्द उद्योग खुलाएपछि उद्योगीहरूले भट्टराईलाई फोनमा दम्भ देखाउँदै जिस्क्याए । ‘अध्यागमनमा त क्रसर उद्योग छैनन् होला, के बन्द गराउनुहुन्छ ?’ स्रोतका अनुसार व्यवसायीले भट्टराईसँग फोनमा भनेका थिए ।

प्रकाशित मिति: : 2020-12-08 08:02:00

प्रतिकृया दिनुहोस्