अब हट्नेछ भुस्याहा कुकुरको समस्या

सांकेतिक तस्बिर

खेमराज गौतम  र तारानाथ आचार्य
भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ ।

यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । 

शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिए ।  सोमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

यस्तै २२८ कुकुरलाई रेविज विरुद्धको सुई लगाइएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडाछोडिएका कुकुर तथा घरपालुवा कुकुरलाईसमेत बन्ध्याकरणमा समावेश गरिएकोे छ । कुकुरकै टोकाइबाट कयौँ घाइते भएर पोखरा र काठमाडौँसम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।

बन्ध्याकरण शिविरमा रेविज विरुद्धको खोप पनि लगाइएको थियो । वरिष्ठ पशु चिकित्सक  शङ्कर पाण्डे, अर्जुन अर्याल, विकास गिरी, खितबहादुर श्रेष्ठलगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजीकरण गरेका थिए ।

शिविर सञ्चालन गर्दा २०० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिए । 'एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेविज रोग पनि घट्ने भएकाले यो अभियान शुरु भएको हो ।' श्रेष्ठले  भने, 'बन्धयाकरणले कुकुरको सङ्ख्या तत्कालै नघटे पनि विस्तारै कम भएर जानेछन् ।' भुस्याहा  कुकुरलाई न्यूनीकरण गर्न तथा सन् २०३०सम्म रेविज उन्मूलन गर्नका लागि बन्ध्याकरण थालिएको उनको भनाइ छ ।

यस्तै पशु चिकित्सक अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भए पनि लामो समय दुःखाइ नहुने गरी औषधि दिने गरेको बताए । उनले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरणसमेत गरेको जानकारी दिए ।

जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि ती निकायले  पाँच लाख विनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका–१३ पैयूँपाटाबाट आउनुभएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए ।

धेरै कुकुर पाल्न नसकिने र रेविज विरुद्धको खोप लगाउने भएकाले आफूले कुकुर लिएर आएको उनले बताए । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र टोकीहाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको जानकारी दिए । जिल्लाका विभिन्न ग्रामीण भेगमा कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाएका घटना पनि समय समयमा आउने गरेका छन् ।

हात्तीपाइले भएन निवारण

सामान्यतया ६ वर्षमा निवारण भएको हात्तीपाइले जिल्लामा १२ वर्षमा समेत निवारण भएको छैन ।  हात्तीपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ ।

लगातार  औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि जिल्लामा ११औं पटकसम्म हात्तीपाइलेको औषधि खुवाउँदासमेत हात्तीपाइले निवारण हुनसकेको छैन । रोग निवारणका गर्नका लागि बागलुङ जिल्लामा पुनः १२औँ पटक अभियान सञ्चालन गरिनेछ । १२औँ पटकको अभियान शुरु गर्नुभन्दा पहिला हात्तीपाइले प्रभावित क्षेत्रमा चांैथो पटक नमूना सङ्कलनको कार्य शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको  कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटाँैडाका सुपरभाइजर सरोज अधिकारीले जानकारी दिए । 

उनका अनुसार जिल्लामा हात्तीपाइले निवारणका लागि पुनःचौँथो पटक नमूना सङ्कलन गर्न थालिएको बताए । 'पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ' उनले भने, 'नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ नभए दुई वर्ष लम्बिन्छ ।'

उनका अनुसार जिल्लामा तीन पटसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चांैथो पटकको नमूना सङ्कलन अभियान शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको हो ।

चांैथो पटकको नमूना सङ्कलन नारायणस्थान र जैमिनी नगरपालिका–१ कुस्मिशेरा ६०० व्यक्तिबाट गरिनेछ । यसका लागि तीन/तीन क्षेत्रमा विभाजन गरिएको हो । यस पटकको नमूना सङ्कलनमा नेगेटिभ अर्थात् दुई प्रतिशत भन्दा कममा हात्तीपाइलेको सङ्क्रमण देखिएमा १२औँ चरणको अभियानबाट रोग निवारण हुने तर पुनः दुई प्रतिशत भन्दा बढीमा पोजेटिभ देखिएमा अर्को वर्ष पुनः १३औँ चरणको अभियान चलाउनुपर्ने जनाइएको छ ।

सङ्क्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्थासँगै पुनःनमूना परीक्षण गर्नुपर्ने अवस्था आएको हो ।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाइराख्नु परेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । उनका अनुसार अहिले नारायणस्थानका घरघरमा महिला स्वास्थ्यस्वयंमसेवीका परिचालन गरी हात्तीपाइलेको लक्षण भएनभएको जानकारी लिने सचेतना गराउने जस्ता कार्य समेत गर्न थालिएको छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यस समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरुपमा बच्न सकिदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउछन् ।

नौ वर्षदेखि ठप्प  सवारी अनुमति परीक्षा

जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नौ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । यहाँको धौलागिरि यातयात व्यवस्था कार्यालयमा २०६९ सालदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न सकेको छैन ।

विसं २०६९ देखि सवारी चालक अनुमतिपत्रका परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो । दुईपाङ्गे्रका लागि निरयघाटमा भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र खुलेको भए पनि चारपाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातयात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिए । 

'नयाँ मापदण्डमा प्रयोगात्मक परीक्षा सञ्चालनका लागि ठूलो जग्गा आवश्यक हुन्छ' उनले भने, 'सार्वजनिक जग्गा छैन, भाडा तिर्दासमेत उपयुक्त जग्गा पाइएन ।' अहिले पनि जग्गाको खोजी भइरहेको र उपयुक्त जग्गा पाउदासाथ चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालनमा ल्याइने छ ।

कार्यालयका अनुसार कोरोनाका कारण रोकिएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन फर्म गत मङ्गलबारदेखि धौलागिरि यातयात कार्यालयले खुल्ला गरेको छ ।  कोरोनाका कारण गत चैत ११ गतेदेखि रोकिएको फाराम यही पुस १४ देखि खुल्ला भएपछि फाराम भर्नेको चाप बढेको कार्यालयले जनाएको छ ।

धौलागिरिको चार जिल्ला हेर्नेगरी २०६५ सालमा स्थापना भएको कार्यालयमा पछिल्लो नौ वर्षदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र नखुलाए पनि दुईपाङ्ग्रेको सवारी चालक अनुमतिपत्र खुलाएको थियो । धौलागिरिसहित लामो समय चालक अनुमतिपत्र नखुल्दा आवेदन दिनेको सङ्ख्या अत्यधिक भएकाले अनलाई फर्मसमेत भर्न समस्या हुँदै आएको छ ।

अहिले धौलागिरि यातयात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फाराम दर्ता गर्दै आएको छ ।

'आवेदनको चाप थामी नसक्नु छ, बिहान ६ बजे खुलेको अनलाईन फर्म १० नबज्दै सकिन्छ' प्रमुख थापाले भने, 'अब नियमित ट्रायल हुँदै गए केही हदसम्म घट्दै जाला ।' बन्दाबन्दी भन्दा अगाडि लिखित दिएका र फर्म भरेकालाई नयाँ व्यवस्था आउने उनको भनाइ छ । आगमी एक हप्ताभित्रै छुटेकालाई सूचना आउने जानकारी थापाले दिए । उनले फर्म आइतबारदेखि बुधबारसम्म मात्रै खुल्ला हुनेछ ।

उहाँका अनुसार कोरोनाकालमा झण्डै दुई हजार भन्दा बढी मोटरसाइकल सवारी चालक अनुमति पत्रको परीक्षा दिनबाट वन्चित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षामा सहभागी गराउन थालिएको छ ।

घरमै खानेपानीको धारा आउँदा

खानेपानीको समस्या सकस बेहोर्न बाध्य धम्जाका दुई सय बढी घरमा खानेपानी पु¥याइएको छ । गण्डकी प्रदेश सरकारले तीन वर्ष अघिदेखि निर्माण शुरु गरेको खानेपानी आयोजना अन्तर्गत बागलुङ जिल्लाको काठेखाला गाउँपालिका–३ धम्जामा सञ्चालित ‘एक घर एक धारा’ अभियानका क्रममा २३४ घरमा धारा जडान गरिएको छ ।

खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीलाई घरमै खानेपानीको धारा आएपछि दङ्ग परेका छन् । खानेपानीको  दुःख भएको धम्जामा घर–घरमा खानेपानी पुग्दा विकासको नयाँ अनुभूति भएको धम्जा माझकटेराकी रिमाकुमारी थापाले बताए । '३५ वर्ष अघि लुथ्रनले बनाएको सामुदायिक धारा थिए, पाँच/सात वर्ष राम्रै भयो' उनले भने, 'पछि मुहान सुक्दै गए, आयोजना मर्मत भएन, खानेपानी आउनै छोड्यो, धारामा घण्टौंलाइन लाग्नुपर्ने अवस्था थियो, अहिले घरमै खानेपानीको धारा आउँदा दङ्ग परेका छौं ।'

धम्जा खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतका १० उपआयोजना सम्पन्न भएको गण्डकी प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । पहिला सामुदायिक धारामा घण्टौंलाइन लाग्ने गरेको, पानी भर्ने पालो नपाउदा रित्तो गाग्री फर्कनुपर्ने अवस्था रहेकोमा अहिले घरमै खानेपानी आउदा समयकोसमेत बचत भएको उपभोक्त गङ्गा खड्काले जानकारी दिए ।

लगातार तीन वर्षसम्म आयोजनाले काम गर्दा २३४ घरमा एक घर, एक धारा पु¥याइएको र ४० घरमा खानेपानी पु¥याउने गरी काम भइरहेको समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिए । 

'उपभोक्ता समितिमार्फत ठेक्का प्रक्रियाबाट धारा निर्माण भएको हो, धम्जाका १४ वटा मुहानबाट घर–घरमा खानेपानी पु¥याइएको छ' उनले भने, 'खानेपानी घरमै आएपछि यहाँका जनताको समय र दुःख दुबै बचत भएको छ ।' दुःखले खाँदै आइरहेको पानी पनि माटेरबाटोका कारण मुहान भासिदै गएको र मर्मत हुन नसक्दा पछिल्लो एक दशकदेखि खानेपानीको धम्जामा खानेपानीको चरम सङ्कट थियो ।

काठेखाला गाउँपालिका–३ को साविक धम्जा गाविसको ८,९, १ ,२ का सबै घरमा खानेपानी पुगेको छ । उक्त वडामा पर्ने माझकटेरा, द्वारा, ओखले, असौजे, काउलेलगायतका गाउँमा खानेपानीको सुविधा पुगेको छ । यस्तै, धम्जा साविक गाविसको ५, ६, ७ र ४ मा खानेपानीको पहुँच पु¥याउन बाँकी छ ।

धम्जामा ६ करोड ५ लाख ७६ हजारको लागतमा २४३ घरमा खानेपानी पु¥याएको कार्यालयका इञ्जिनीयर ईश्वरीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १४ मुलको पानी १० उप–आयोजनामा विभाजन गरी घर–घरमा खानेपानी पु¥याइएको हो ।

खानेपानी जीवनज्योति निर्माण सेवा र बाँस्तोला निर्माण सेवाले ठेक्कामार्फत खानेपानी आयोजना निर्माण गरेको थियो । मिटर जडित खानेपानी धाराले पानीको समेत बचत गर्नेछ । इञ्जिनीयर शर्माका अनुसार ११ वटा पानी सङ्कलन गर्न पाँच हजारदेखि ३० हजार लिटर क्षमताको ट्याङ्की, ८ किलोमिटर मुख्य पाइप लाइन तथा २२ किलोमिटर वितरण लाइनमार्फत घरघरमा खानेपानी पु¥याइएको हो । निर्माण गर्न थालिएका बाँकी ४० धारा आगामी असार मसान्तसम्म सकिनेछ । हालसम्म उक्त आयोजनाले धम्जाका दुई हजार जनसङ्ख्यालाई प्रत्यक्ष लाभान्वित गराउँदै आएको छ ।

बडिगाडको योजनामा रु चार करोड बजेट

बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाट योजनामा बजेट विनियोजन गरेको छ । कानून बनाउनका लागि हुने गरेको गाउँसभाले अघिल्लो आर्थिक वर्षको बाँकी बजेटलाई योजनामा बाँडफाँड गरेको हो । चालू आर्थिक वर्षको मध्यअवधिमा ६ वटा योजनाको लागि  रु साढे तीन करोड बाँडफाँड गरिएको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ को  रु तीन करोड ५२ लाख (खर्चहुन बाँकी निर्सत बजेटको रकम) चालु आर्थिक बर्षमा सम्पत्तिको रुपमा जम्मा गरेर सडक, कृषी र शिक्षा क्षेत्रका ६ योजनामा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । गाउँपालिकाले आठौँ गाउँसभामार्फत अत्यावश्यक योजनाहरुमा रकमान्तर गरेर बजेटको व्यवस्था मिलाएको छ । आर्थिक बर्षको आधा अवधि सकिँदासमेत काम नभएका र सम्झौता गर्न नआएका योजनालाई ताकेता गरिएको छ ।

गाउँसाभाले भलामी सिसाखानी मोटरबाटो निर्माणको लागि २५ लाख, ग्वालीचौर छहरा दिपायर सडकको लागि २० लाख, भिमगिठे गोठान सडकको लागि रु १५ लाख विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिए ।

त्यस्तै गाउँसभाले कृषि तथा पशुसेवा तर्फ रु एक करोड ३५ लाख, स्वास्थ्य तर्फ रु ५० लाख र शिक्षा तर्फको रु  ५० लाख बजेटलाई बाँडफाँड गरेको छ । कृषि तथा पशुपालनका योजनाबाट किसानलाई बीउ पूँजी र तालीम तथा प्रविधिको हस्तान्तण हुने छ । 'हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, बजेट अधिवेशनका बेला छुटेका क्षेत्रसमेत हिउँदे अधिवेशनबाट समेट्न खोजीएको छ', अध्यक्ष पाइजाले भने, 'अत्यावश्यक सडकमा लगानी हुने छ, बाँकी अघिल्लो वर्ष बचेको प्रयोग गर्न मिल्ने बजेट कृषि र शिक्षा तथा स्थास्थ्य क्षेत्रमा खर्च हुने छ ।'

त्यस्तै लक्षित वर्ग तर्फ महिला तथा बालबालिकाको लागि रु ११ लाख विनियोजन भएको छ । गाउँसभाले तत्काल कार्यबिधि बनाएर लक्षित वर्गका कार्यक्रम सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । जनजातिको लागि सात लाख, दलितको लागि पाँच लाख, ज्येष्ठ नागरिक कार्यक्रमको लागि पाँच लाख, अल्पसङ्ख्यकको लागि दुई लाख, मुस्लिमको लागि दुई लाख र अपाङ्गता भएकाको लागि पाँच लाख बजेट विनियोजन गरेको छ ।

सङ्घीयता कार्यान्वयनपछि लक्षित वर्गका लागि बजेटको व्यवस्थापन हुन सकेको थिएन् । बडिगाड गाउँपालिकाको हिउँदे सभाले लक्षित वर्गमा पर्ने समुदायका लागि शीर्षक तोकेर पहिलो पटक बजेट विनियोजन गरेको हो । गाउँसाभाले हालसम्मको खर्च र केही कार्यविधिसमेत पारित गरेको छ । रासस 

प्रकाशित मिति: : 2021-01-10 17:38:00

प्रतिकृया दिनुहोस्